काठमाडौं, ७ भदौ । राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणालीजस्ता संविधानका विवादित विषयमा सहमति खोज्न सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले छलफललाई अघि बढाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा शीर्ष नेताहरुले राज्यको पुनःसंरचना र शासकीय स्वरुपलगायतका संविधानका विवादित विषयमा सहमति खोज्ने प्रयास गरेको कांग्रेसका प्रवक्ता दिलेन्द्र बडूले जानकारी दिए ।
‘राज्यको पुनःसरचना र शासकीय स्वरुपलगायतका विषयमा सहमति खोज्ने प्रक्रिया सुरु भएको छ, सहमति नजिक पुग्ने अवस्था बनेको छ तर टुङ्गिसकेको छैन,’ प्रवक्ता बडूले भने । छलफल निष्कर्षमा पुग्न नसकेकोले दुई दलबीच पुनः आजै छलफल हुनेछ ।
उनले दुई सत्तारुढ दलबीच सरकार सञ्चालनका मुख्य विषय र चुनौती, महत्वपूर्ण नियुक्ति तथा सरकार सञ्चालनको समझदारी, विपक्षीसँगको सम्बन्ध, स्थानीय निकायको निर्वाचन र दुई पार्टीबीच भएका सहमतिको बारेमा पनि छलफल भएको उल्लेख गरे ।
बैठकमा कांग्रेसले सुकुम्बासी आयोग गठन एकतर्फी ढङ्गले भएको भन्दै आपत्ति जनाएको थियो ।
‘संविधान निर्माणका विषयमा सहमति जुटाउन छलफल भइरहेको छ, हामीले एकतर्फी ढङ्गले सुकुम्बासी आयोग गठन भएकोबारे आपत्ति जनायौँ,’ कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने ।
एमालेका वरिष्ठ नेता झलनाथ खनालले पनि राज्य पुनःसंरचनाका विषयमा सहमति खोज्ने प्रयास जारी रहेको बताए ।
बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस पार्टी सभापति सुशील कोइरालाले अहिलेको प्रमुख काम भनेको संविधान बनाउने भएकाले त्यसैमा सबै राजनीतिक दलले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका थिए ।
राष्ट्रपति, उपराष्ट्रपतिको अनुमोदनका बारेमा पनि केही छलफल भयो कि भन्ने प्रश्नमा कांग्रेस प्रवक्ता बडूले प्रधानमन्त्री कोइरालाले अरु विषयमा नअल्झिकन संविधान बनाउनमै ध्यान दिउँ भन्ने भनाइ राखेको जानकारी दिए ।
‘संविधान बनेपछि एक मिनेट पनि पदमा बस्दिन भनेर प्रधानमन्त्रीले भनिसक्नुभएको छ, अन्य विषयमा पनि बसेर संवाद गरौला भन्नुभएको छ,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै प्रवक्ता बडूले भने ।
केही दिनयता प्रमुख राजनीतिक दलहरुले आन्तरिक र दुईपक्षीय रुपमा संविधानको विवादित विषयमा सहमति जुटाउन छलफललाई अघि बढाएका छन् । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले यी विषयमा पनि छलफलका लागि विषय प्रवेश गराएपछि दलहरु आन्तरिक र दुई पक्षीय छलफलमा जुटिरहेका छन् ।
खासगरी २०६९ जेठ २ गते प्रमुख राजनीतिक दलहरुबीच भएको सहमतिलाई सन्दर्भ बनाएर संविधानसभाको निर्वाचनपछि उत्पन्न नयाँ अवस्थामा संविधानका विषयमा कसरी सहमति जुटाउन सकिन्छ भनेर दलहरु छलफलमा व्यस्त भएका छन् ।















प्रतिक्रिया