काठमाडौं, २९ साउन । तीन करोड जनसंख्या भएको मुलुकमा दर्जनभन्दा बढी मन्त्रालय नै आवश्यक नपर्ने विज्ञको सुझाव आइरहेकै बेला कुनै कामै नभएका उपप्रधानमन्त्रीको पगरी थप्न नयाँ सरकार गठनसँगै बरिष्ठ मन्त्रीहरु तँछाडमछाड गर्न थालेका छन् ।
उपप्रधानमन्त्री हुँदा सरकारको मर्यादाक्रममा उक्लिनुबाहेक व्यक्तिगत रुपमा अरु कुनै फाइदा हुँदैन ।
बरु उपप्रधानमन्त्री भइसकेपछि फेरि मन्त्रीमा झर्न मर्यादाले पनि अवरोध गर्ने हुँदा मन्त्री हुने सम्भावनाको ढोका बन्द हुन्छ ।
तर पनि किन गठबन्धनमा रहेका सवै दललाई उपप्रधानमन्त्री नै चाहिन्छ सरकारमा सहभागी हुन ?
प्रशासन सुधारका ज्ञाता काशीराज दाहाल उपप्रधानमन्त्री एकजनाभन्दा बढी बनाउनु शासनका हिसावले गलत तथा प्रशासनिक र कार्यसम्पादनका हिसाबले पनि झन्झटिलो र अप्राकृतिक हुने बताउँछन् ।
‘कुनै बरिष्ठ र समाजमा उच्च सम्मान भएको व्यक्ति सरकारमा छ भने उसलाई सम्मानस्वरुप उपप्रधानमन्त्री बनाउनु उपयुक्त हुन्छ’, दाहालले भने, ‘‘तर गठबन्धन बचाउने गरी सरकारमा सहभागी सबै दललाई एउटा उपप्रधानमन्त्री दिने अत्यन्त गलत परम्परा हो । यसले शासन र राज्य सञ्चालनमा सकारात्मक सन्देश दिँदैन ।’
अधिकांश मुलुकमा उपप्रधानमन्त्री प्रायः हुँदैन । प्रधानमन्त्री विदेश गएको छ भने आफ्नो सरकारका वरिष्ठ मन्त्रीलाई नै कार्यवाहक पधानमन्त्रीको जिम्मा दिइएको हुन्छ ।
तर नेपालमा भने पछिल्लो पटक केपी ओली सरकारले आधा दर्जन उपप्रधानमन्त्री बनाएर देशको बदनाम मात्रै गराएको छैन, उपप्रधानमन्त्रीको मर्यादा र उचाइसमेत कमजोर र सस्तो देखाएको छ ।















प्रतिक्रिया