प्रताप बानियाँ
म्याग्दी, ७ भदौ । म्याग्दीको सदरमुकाम बेनीबजारको एक घरमा शुक्रबार राती अचानक आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । हुलाकचोकको शान्तिटोलमा रहेको गोविन्द्र श्रेष्ठको दुइतले कच्ची घरमा करिब ११: ३० बजे लागेको आगलागीबाट घर पूर्ण रुपमा जलेर क्षति भएको हो ।
आगोलागीबाट घरभित्र रहेका लत्ताकपडा, भाडाकुँडा र अन्नपातलगायतका अत्यावश्यकीय सामाग्रीमा समेत क्षति पुगेको म्याग्दीका प्रहरी नायव उपरीक्षक जर्नादन जिसीले बताए । कसरी आगोलागी भयो भन्ने प्रारम्भिक अनुसन्धानमा विद्युत सर्ट जस्तो देखिएपनि थप अनुसन्धान भैरहेको उनले जानकारी दिए ।
घरको माथिल्लो तलाबाट सल्किएको आगोले तल्लो तलामा रहेको होटल तथा कोठा भाडामा बसोबास गर्नेलाई समेत क्षती पु¥याएको छ । आगो निभाउनका लागि ईन्द्रबक्स गणमा कार्यरत नेपाली सेना, प्रहरी जवान, स्थानियबासी तथा सर्वसाधारणको सक्रियतामा राती १ बजे मात्रै पुर्णरुपमा नियन्त्रणमा आएको थियो ।
आगो नियन्त्रणमा बेनीखानेपानी उपभोक्ता संस्थाले वितरण गर्ने खानेपानी, स्थानीयको घरघरबाट समेत पानी ल्याइएको थियो । बेनीबजारमा रहेका पुरानो घर मध्यको एक उक्त घरको आगोलागी समयमै नियन्त्रणमा लिएकाले कुनै मानवीय क्षति भएको छैन । आगोलागीबाट अनुमानित साढे १४ लाख रुपैयाँ बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

















प्रतिक्रिया