बाजुरा, ७ भदौ । जिल्लाको सदरमुकाम मार्तडीमा १० दिनदेखि विद्युत् नहुँदा सदरमुकाम अन्धकार बनेको छ ।
मार्तडीमा रहेको २५० किलोवाटको त्रिवेणी साना जलविद्युत् केन्द्रको मुहान र पावरहाउसमा साउन २८ गते परेको वर्षाका कारण आएको बाढीले बगाउँदा यो समस्या आएको हो ।
नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाको साझा प्रयासपछि पावरहाउस बग्नबाट बचाइएको केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताउनुभयो ।
सदरमुकाममा विद्युत् नभएका कारण नागरिकता र राहदानी बनाउन गाउँबाट आएकालाई सबैभन्दा ठूलो समस्या भएको छ ।
गाउँबाट केही दिनका लागि मात्र आएका अब यही थुनिएका छन् । खर्च मात्र बढेको छ । विद्युत् कहिले आउने हो भन्ने पत्तो छैन–जुकोट गाविसका सचिव सचिव बेलजङ्ग शाहीले बताउनुभयो ।
जुकोट गाविसबाट दुई दिनको पैदल हिँडेर सदरमुकाम पुगेका हीरालाल खत्रीले भन्नुभयो, ‘म विदेश जान राहदानीको सिफारिस बनाउन आएको हँु । यहाँ म पुगेकै दिन विद्युत् नहर बगाएको हो, आजसम्म पनि बनेको छैन ।’
भौगोलिकरुपमा बाजुरा जिल्लामा कठिनाइ छ । गाउँबाट स्थानीयवासी सदरमुकाम आउन हप्तौ लाग्छ, यहाँ यातायातका साधन छैन पैदल हिड्नुको अर्को विकल्प छैन ।
‘विद्युत् नभएकाले नेपाल टेलिकम र एनसेल नेटवर्कका कम्पनीले जेनेरेटर सञ्चालन गरेर सञ्चार सेवा दिने गरेका छन् । तर जिल्लामा यातायात नपुग्ने भएका कारण डिजेल, पेट्रोल र मट्टितेलको समस्या छ । अबका केही दिनसम्म विद्युत् नबन्ने हो भने टेलिफोन सेवाबाटसमेत जनता वञ्चित हुनुपर्ने समस्या छ’– एनसेल नेटवर्कका सुरक्षागार्ड भीमबहादुर रावलले भन्नुभयो । रासस
















प्रतिक्रिया