बैतडी, २५ साउन । बैतडीमा खोलाले बगाउँदा बेपत्ता भएका दुई बालबालिका चार दिनसम्म पनि फेला पर्न सकेका छैनन् ।
शनिबार दिउँसो सलेना–१ मा रहेको बागगोठ खोला तर्ने क्रममा दुर्गास्थान गाविस–२ का भरत राम ओडका १४ वर्षीय छोरा यसपन्त ओड बेपत्ता भएका हुन् ।
दुर्गास्थान घर भएका बालक सलेनामा मामाघर गएका थिए । बेपत्ता बालकको खोजी गर्नका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले राससलाई जानकारी दिनुभयो । घटनास्थल सदरमुकामवाट डेढ दिनको पैदल दूरीमा पर्दछ ।
यस्तै, आइतबार बेपत्ता भएकी जिल्लाको मल्लादेही गाविस–४ की १५ वर्षीया विमला जोशी पनि फेला पर्न सकेकी छैनन् । बेपत्ता किशोरीलाई आमा विस्नादेवी जोशीसँग मामाघर महादेवस्थान–४ बाट घर फर्कने क्रममा बीच बाटोमा पर्ने सीमचानी खोलाले आइतबार दिउँसो १ बजेतिर बगाएको थियो ।
घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दूरीमा पर्दछ । बेपत्ता दुवै जनाको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस











प्रतिक्रिया