– विमल योगी
काठमाडौं, २४ साउन । कमल थापालाई कार्यकारी अध्यक्ष मान्न कि नमान्ने भन्ने विषयमा बिबाद हुँदा राप्रपा र राप्रपा नेपालवीच भोलि मंगलबार हुने भनिएको पार्टी एकता अन्तिम चरणमा आएर भाँडिएको छ ।
राजधानीमा आज बसेका राप्रपा र राप्रपा नेपालका अलग अलग बैठकहरूमा पार्टी एकीकरणका विषयमा छलफल भए पनि ठोस सहमति नहुँदा पार्टी एकीकरण भाँडिन पुगेको हो । राप्रपाको कार्यसम्पादन समितिले अन्तरिम कार्यविधिका केही प्रावधानमा छलफल आवश्यक रहेको जनाएपछि भोलिका पार्टी एकता तत्कालका लागि टरेको हो ।
राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले आफूहरू पार्टी एकताको पक्षमा रहेको भन्दै मंगलबार एक बजेसम्म पनि एकीकरणको प्रयास गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी एकताको पक्षमा छौँ । मंगलबार एक बजेसम्म राष्ट्रिय सभा गृहमा राप्रपालाई कुर्ने छौँ ।’
राप्रपा नेपालका प्रवक्ता श्रेष्ठले अगाडि भन्नुभयो, ‘हामी सार्थक वार्ता र एकताको पक्षमा सधैँ थियौँ र छौँ ।’ उहाँले दुई राप्रपावीचको पार्टी एकता कसका कारणले तुहिएको हो सो विषयमा कार्यकर्ताले थाहा पाउनु पर्ने बताउनुभयो ।
राप्रपाका सहप्रवक्ता किरण गिरीले दुई पार्टी एकीकरणका लागि तयार पारिएको अन्तरिम कार्यविधिमा छलफल आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अन्तरिम कार्यविधिमा छलफल आवश्यक रहेकाले सो विषयमा छलफलका लागि राप्रपा नेपाललाई आग्रह गरिएको छ ।’ सहप्रवक्ता गिरीले भोलिको कार्यक्रममा सहभागी नहुन आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिने निर्णय भएको बताउनुभयो ।












प्रतिक्रिया