काठमाडौं, २४ साउन । नेपाली आकाशमा मानवरहित स्वचालित विमान ड्रोनको अनधिकृत प्रवेशसँगै सुरक्षा र गोपनीयतामा गम्भीर चुनौती थपिएको छ ।
प्रहरीले वैशाख यता नियन्त्रणमा लिएका १० मध्ये पाँच विदेशी नागरिकले नेपालका विभिन्न स्थानबाट ड्रोनबाट लिएका दृश्य शंकास्पद पाइएका छन् ।
तिनमा निषेधित र अति गोप्य क्षेत्र तथा क्रियाकलापका तस्वीर र दृश्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता डीआइजी माधव जोशीले ड्रोनको प्रयोगले आकाश मात्र नभई राष्ट्रिय सुरक्षामा समेत चुनौती थपिएको बताए ।
‘राज्यले केही स्थान र क्रियाकलाप गोप्य राखेको हुन्छ’, उनले भने, ‘यसरी लिएका तस्वीर र दृश्य गलत नियतबाट प्रयोग हुन सक्ने सम्भावना रहन्छ ।’
गृह मन्त्रालयले गत कात्तिकमा अनम्यान एरियल उडान सम्बन्धी कार्यविधि २०७२ बनाएपछि प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
तिनले नेपाली सेनाको मूख्यालय जंगी अड्डादेखि मन्त्रीनिवास हरिहरभवनसम्मका तस्वीर लिएको प्रमाण रहेको प्रहरीको दाबी छ ।
मन्त्रालयको कार्यविधिअनुसार ड्रोन उडाउन नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिनुपर्छ, उडानका बेला सुरक्षाकर्मीको उपस्थिति अनिवार्य छ ।















प्रतिक्रिया