
काठमाडौ, २३ साउन । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राजदूतसँग आफ्नो निवास बालकोटमा भेट्न अस्वीकार गरेका छन् ।
दुई दिनअघि चिनियाँ राजदूत उ चुन्ताईले ओलीलाई बालकोट पुगेर भेटेका थिए । त्यसलगत्तै भारतीय राजदूतावासले भेट गर्न ओलीसँग समय मागेको थियो । भारतीय राजदूत रञ्जीत रेले ओलीको बालकोटस्थित निवासमै भेट्ने प्रस्तावसहित समय मागेका थिए । तर, ओलीले बालकोटमा भेट्न अस्वीकार गरेको स्रोतले बतायो ।
‘भारतीय दूतावासबाट बालकोटमै भेट्ने प्रस्ताव आएको थियो । तर, अध्यक्षज्यूले अस्वीकार गर्नुभयो,’ ओलीको निजी सचिवालय स्रोतले भन्यो– ‘पार्टी कार्यालय धुम्वाराहीमा भेट्न सकिनेगरी समय दिनुभयो ।’
प्रधानमन्त्री हुँदा भारतीय राजदूतलाई भेट्न पटक पटक समय नदिएका ओलीले सरकार ढाल्नमा भारतकै हात रहेको बताउँदै आएका छन् । पछिल्लो समय उनी भारतप्रति असन्तुष्ट छन् ।
आइतबार धुम्वाराहीमा भेट, हस्तक्षेप स्वीकार्य नहुने चेतावनी
यसैबीच एमाले अध्यक्ष ओलीले भारतीय राजदूतसँग एमाले पार्टी कार्यालयमा भेट गरेका छन् । भेटमा द्विदेशीय पछिल्लो सम्बन्धबारे छलफल भएको थियो ।
त्यसक्रममा अध्यक्ष ओलीले एमाले छिमेकी मुलुकहरुसँग हार्दिक र मित्रतापूर्ण सम्बन्धको पक्षमा रहेको र नेपालको आन्तरिक राजनीतिमा हुने कुनैपनि अस्वाभाविक चलखेलहरू स्वीकार्य नहुने चेतावनी भारतीय राजदूतलाई दिएको एमाले प्रचार विभागले जनाएको छ ।












प्रतिक्रिया