२ कार्तिक २०८३, सोमबार

राजदूत नियुक्ति तत्कालै हुन्छ: मन्त्री पण्डित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lalbabu-Pandit

भक्तपुर, ६ भदौ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आगामी माघ ८ गतेभित्र संविधान जारी गर्ने गरी सरकारले तदारुकताका साथ काम गरिरहेको बताउनुभएको छ ।

नेपाल जेसिज क्षेत्र ‘ग’ सम्मेलन–२०१४ को शुक्रबार भक्तपुरको सूर्यविनायकमा उद्घाटन गर्दै उहाँले राजनीतिक सहमतिबाटै नयाँ संविधान जारी गरिने बताउनुभयो ।

संविधान निर्माणमा रहेका केही मतभेद अन्त्यका लागि राजनीतिक एवम् संवैधानिक समितिमा व्यापक छलफल भइरहेको बताउँदै उहाँले यहींबाट सहमति खोजिने छ भन्नुभयो ।

मन्त्री पण्डितले विभिन्न देशमा रिक्त रहेका राजदूतको नियुक्ति अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै संवैधानिक अङ्गको रिक्त रहेका पदमा समेत छिट्टै पदपूर्ति गर्ने तयारी भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

प्रशासन क्षेत्रको सुधारका लागि निजामति ऐन चौथो संशोधन विधेयक एक महिनाभित्र पारित भएर लागू हुने उहाँको कथन थियोे ।

उहाँले भन्नुभयो – नेपालीको गन्तव्य विदेशमात्रै हुने गरेकामा विदेशीलाई पनि नेपालमा स्थायी बसोवास गराउने गरी नेपाललाई समुन्नत देश बनाउनुपर्छ ।

शनिबारसम्म चल्ने उक्त सम्मेलनमा नेपाल जेसिज क्षेत्र ‘ग’ अन्तर्गत विभिन्न जिल्लाका करिब ४०० जनाको सहभागिता रहेको सम्मेलनका प्रबन्धक कृष्णेश्वरी हाडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सामाजिक सेवा, व्यक्तित्व विकास, आचरण सुधार, सामाजिक सेवामा युवा परिचालन, लैङ्गिक हिंसा न्यूनीकरणलगायत विषयमा बृहत् छलफल गरी घोषणापत्र जारी गरिने छ । रासस