काठमाडौं, २२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र सरकारमा सहभागिता र कमल थापा नेतृत्वको राप्रपा नेपालसँगको पार्टी एकीकरणका विषयमा नेताहरूवीच गम्भीर मतभेद देखिन थालेको छ ।
स्रोतका अनुसार कमल थापालाई अध्यक्ष मान्न नहुने पक्षमा राप्रपाका प्रभावशाली नेताहरू देखिएका छन् । कमल थापालाई कार्यकारी अध्यक्ष मान्ने पक्षमा स्वयं अध्यक्ष पशुपति शम्शेर राणा, वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनी छैनन् । पूर्व अध्यक्ष लोकेन्द्रबहादुर चन्द भने कमल थापालाई कार्यकारी अध्यक्षका रुपमा मान्न तयार रहेको बुझिएको छ ।
दुई राप्रपा एकीकरण हुने भएमा कार्यदलले तयार पारेको प्रस्तावमा राप्रपालाई राष्ट्रिय अध्यक्ष र कमल थापालाई कार्यकारी अध्यक्ष बनाउने सहमति उल्लेख छ । यो प्रस्तावलाई अध्यक्ष राणाले स्वीकार्न नसकिने बताउने गरेका छन् ।
उता, पार्टी एकीकरणको प्रक्रिया र सरकारमा सहभागिताका विषयमा वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनी समूह पनि खासै सकारात्मक छैन । डा.लोहनीले एकीकरणका लागि तयार पारिएको प्रस्तावप्रति असुन्तष्टि जनाउँदै आएका छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा भने राप्रपासँगको पार्टी एकीकरण छिटो होस् भन्ने चाहन्छन् । कार्यकारी अध्यक्ष बनेर पार्टी हाँक्ने भएपछि थापा खुसी हुनु स्वभाविक पनि हो । थापाले साउन २५ गतेभित्र पार्टी एकीकरण गर्न राणालाई दबाब दिँदै आएका छन् ।
शुक्रबार महाराजगञ्जस्थित अध्यक्ष राणाको निवासमा बसेको प्रभावशाली नेताहरूको बैठकमा यथाअवस्थामा पार्टी एकीकरण गर्न नहुने र पार्टी एकता भएमा आफूहरू बाहिरिने चेतावनी डा.लोहनीको समूहले दिएको छ ।
डा.लोहनीलाई हरिबहादुर बस्नेत, ध्रबुबहादुर प्रधान, बालाराम घर्तीमगर, भुवन पाठक, रोशन कार्की, दुर्गा श्रेष्ठलगायतले साथ दिँदै आएका छन् ।
दीपक बोहरा, सुनिलबहादुर थापा र बिक्रम पाण्डे मन्त्री बन्ने भनेर बसेकाले उनीहरू यस विषयमा धेरै खुलेर बोलेका छैनन् ।











प्रतिक्रिया