– निशानदाजु भट्टराई
दाङ, २१ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नी पत्नीलाई मन्त्री बनाउने प्रस्ताव अहिलेसम्म नराखेको र कुनै दबाब नदिएको स्पष्ट पार्नु भएको छ ।
उहाँले सभापति देउवासंग आफ्नी पत्निलाई जसरी पनी मन्त्री बनाउन प्रस्ताव राखेको विषयमा सञ्चारमाध्यममा समाचार सार्वजनिक भएकोप्रति गम्भिर आपत्ति जनाउँदै त्यस्ता समाचारको भ्रममा नपर्न आग्रह गर्नु भएको खड्काका विश्वासपात्र युवा नेता महेश श्रेष्ठले बताउनुभयो ।
लामो समयदेखि नेपाली कांग्रेसभित्र लोकप्रियता बटुल्दै आएका कांग्रेसका प्रभावशाली नेता खड्काले पत्नीलाई मन्त्री बनाउन लागेको भनेर आफ्नोविरुद्ध गलत प्रचार गर्न खोजेको आरोप लगाउदै यसमा कुनै सत्यता नभएको उल्लेख गर्नुभयो । ‘मैले पत्नीलाई मन्त्री बनाउन कसैलाई दवाव दिएको छैन, यो भ्रामक कुरा हो, गलतका कुराहरुको पछि नलाग्न सार्वजनिक रुपमा अपिल गर्न चाहन्छु,’ खड्कालाई उद्धृत गर्दै श्रेष्ठले भन्नुभयो– ‘सभापति देउवासंग दुरी बढाउन पार्टी भित्रैका साथीहरुले गलत प्रचार गर्नुभयो, मैले पार्टीका नेता शंकर भण्डारी लगायतकालाई आफ्नो तर्फबाट मन्त्री बनाउनका लागि देउवालाई दवाव दिइरहेको छु, यो बाहेक अन्य कुरा मलाई थाहा छैन ।’
पार्टीभित्र आन्तरिक सन्तुलन मिलाउनुपर्ने भन्दै महाधिवेशनको बेला भएको सम्झौता अक्षरस पालना गर्न देउवालाई अनुरोध गर्नुभयो । महाधिवेसनका क्रममा देउवाले आफूलाई उपसभापति बनाउने भनेर सहमति गरेको दावी गर्दै उहाँले सहमति यथाशिघ्र कार्यान्वयन नभए पार्टी चलाउन देउवालाई गाह्रो हुने चेतावनी दिनुभयो । सहमति कार्यान्वयनमा ढिलाई गरे देउवासंग हिसावकिताव गर्ने तयारीमा खड्का रहेको उनी निकट स्रोत बताउँछ ।
‘म पदको लागि लोभी मान्छे होइन्, मैले श्रीमतीलाई मन्त्रालय चाहियो भनेर कसैसगँ भनेको छैन् । बरु मसगँ निकट रहेका केन्द्रिय नेताहरु र सभासद मध्येका साथीहरु समेटियोस् भन्ने कुरा सभापतिसँग भएको हो,’ स्वास्थ्य उपचारका क्रममा ४ दिनदेखि भारतमा रहेका प्रभावशाली नेता खड्कालाई उद्धृत गर्दै विश्वासपात्र श्रेष्ठले भने । गत १३ औं महाधिबेशनमा सभापतिसँग केहि साक्षीसहित भएका सहमति कार्यान्वयन होस् भन्ने आफ्नो चाहना रहेको तर, पारिवारिक लोभलालच आफूले नराखेको नेता खड्काको स्पष्टिकरण छ ।
खड्काले तत्कालिन संबिधान सभाको निर्वाचनमा आफ्ना नेता कार्यकर्तालाई पन्छाएको भन्दै श्रीमती शिला शर्मा खड्कालाई दिएको प्रत्यक्ष निवार्चनको टिकट समेत उहाँले बहिस्कार गर्नु भएको थियो ।
त्यस्तो अवस्थालाई नजर अन्दाज गर्दै पार्टीभित्र निकै ठूलो कसरत गरेर समानुपातिक कोटाबाट सांसद बनाउन सफल भएका भन्ने भ्रामक समाचार समेत प्रकाशित गरिएकोमा खड्काले दुःख ब्यक्त गर्नु भएको छ । नेपाली कांग्रेसभित्र प्रभावशाली नेतृत्वकर्ताका रुपमा चिनिएका नेता खड्का नेपाललाई हिन्दू राष्ट्र कायम गराउन सक्रिय रुपमा लाग्दै आउनु भएको छ ।












प्रतिक्रिया