
– विमल योगी
काठमाडौं, २१ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नवगठित सरकारले निवर्तमान सरकारको राजदूत सिफारिससम्बन्धी निर्णय फिर्ता लिएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक तहबाट नियुक्त भएका १४ जनाको राजदूत सिफारिस सम्बन्धी निर्णय फिर्ता लिएको हो ।
सरकारका प्रवक्ता एवं अर्थमन्त्री कृष्ण महराका अनुसार मन्त्रिपरिषद् बैठकले २२ मध्ये राजनीतिक पृष्ठभूमिबाट सिफारिस गरिएका १४ जना राजदूतहरुको नाम फिर्ता लिएको छ ।
पराराष्ट्र सेवाबाट आएका आठ राजदूतको भने कारबाही प्रक्रिया अगाडि बढ्नेछ । केपी शर्मा ओली नेतृत्वको सरकारले परराष्ट्र सेवाका ८ सहित २२ देशका लागि राजदूत सिफारिस गरेको थियो ।
परराष्ट्र सेवाबाट प्रस्तावित राजदूत सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाशकुमार सुवेदी, ऋषिराम घिमिरे, रमेश खनाल, झबिन्द्रप्रसाद अर्याल, डा दुर्गाबहादुर सुवेदी र लोकबहादुर थापाको सुनुवाइ भइ सकेको छ । उनीहरू राजदूत हुने पक्का भएको छ ।
सिफारिस फिर्ता लिने प्रचण्ड सरकारको निर्णयपछि राजनीतिक पृष्ठभूमिका महेन्द्रबहादुर पाण्डे, डा खड्गबहादुर के.सी., डा नारदनाथ भारद्वाज वाग्ले, डा शिवमाया तुम्बाहाम्फे, अलिअख्तर मिकरानी, युवराज कार्की, युवनाथ लम्साल, प्रा डा. महेन्द्रप्रसाद सिंह राजपुत, पदम सुन्दास, लक्की शेर्पा, खगेन्द्र बस्न्यात, भरतबहादुर रायमाझी, निरञ्जनकुमार थापा र शर्मिला पराजुली ढकालको राजदूत बन्ने सपना भने चकनाचुर भएको छ ।











प्रतिक्रिया