रत्ननगर (चितवन), ५ भदौ । चितवन जिल्लामा करिब एक महिनाको अवधिमा प्राकृतिक विपद्का कारण छजनाको ज्यान गएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति चितवनले दिएको तथ्याङ्कअनुसार असारको अन्तिम सातादेखि करिब एक महिनाको अवधिमा उनीहरूको ज्यान गएको हो । मृत्यु हुनेमा तीन पुरुष र तीन महिला छन् ।
असार २९ देखि भदौ १ गतेसम्म ३२ दिनको अवधिमा ती घटना भएको जिल्ला विकास समिति चितवनका विपद् व्यवस्थापन श्रोतव्यक्ति बलराम लुईंटेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्यस समयमा ३४ परिवार विस्थापित भएको र आठ घर पूर्णरुपमा क्षति भएको छ ।
गएको असार २९ गते चितवनमा पहिलो पटक भारी वर्षा भएको थियो । वर्षापछि उत्पन्न विपद्का कारण माडीकी ईशारा विकको बाँदरमुढे खोलाले बगाएर ज्यान गएको थियो । यस्तै, साउन १३ गते पिप्ले ९ धमिलेका वीरबहादुर चेपाङको मार्तल खोलाले बगाएर ज्यान गएको लुईंटेलले जानकारी दिनुभयो ।
साउनको अन्तिम साता आएको भारी वर्षा र बाढीका कारण तीन जनाको ज्यान गएको थियो । भिरबाट खसेको ढुङ्गा लागेर शक्तिखोर राजवनकी गर्भवती रेणूका चेपाङको ज्यान गएको थियो भने सोही गाविस अजिङ्गरेका कृष्ण प्रजाको कयर खोलाले बगाएर ज्यान गएको थियो ।
साउन ३० गते दारेचोकका चुडामणि सापकोटालाई बारवाङ खोलाले बगाएर ज्यान लिएको थियो । यस्तै, भदौ १ गते पश्चिम चितवनको चित्रवन नगरपालिकामा खोलामा खसेर स्थानीय लक्ष्मी ठकुरीको ज्यान गएको लुईंटेलले बताउनुभयो ।
सार्वजनिक तथ्याङ्कअनुसार जिल्लामा विपद्मा परी ३४ परिवार विस्थापित भएको र आठ घर पूर्ण रुपमा क्षति भएको छ । यस्तै ३०० बढी बिघा जमिन डुवानमा परेको छ । रासस
















प्रतिक्रिया