२ कार्तिक २०८३, सोमबार

संविधान निर्माणमा काँग्रेस लचक, एमालेको पनि पदाधिकारी बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-Uml

काठमाडौँ, ४ भदौ । नेपाली काँग्रेसले निर्धारित समयमै संविधान निर्माणका लागि सरोकारवालासँग दुई पक्षीय र बहुपक्षीय छलफल र वार्तालाई तिव्रता दिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको पार्टी पदाधिकारी, पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री र संवैधानिक राजनीतिक संवाद सहमति समितिमा काँग्रेसका तर्फबाट रहेका सभासद्को संयुक्त बैठकले समयमै संविधान निर्माणका लागि अन्य पक्षसँग उच्चतम लचकताका साथ अघि बढ्ने निर्णय गरेको हो ।

बैठकमा संविधान निर्माणका विवादित र अन्र्तवस्तु खासगरी सङ्घीयता, शासकीय स्वरूप, समावेसीकरणका मुद्दालाई पार्टीको घोषणापत्रमा समावेश गरिएअनुरूप कसरी अघि बढाउने भन्नेबारेमा पनि विमर्श भई आन्तरिक छलफललाई निरन्तरता दिने सहमति भएको छ ।

निर्धारित समयमै संविधान जारी गर्न सहमतिका लागि दुई पक्षीय र बहुपक्षीय वार्तालाई अघि बढाउने निर्णय भएको बैठकमा सहभागी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राससलाई जानकारी दिनुभयो ।

काँग्रेसले लिएका दृष्टिकोणलाई एकीकृत रूपले प्रस्तुत गर्ने र सबै पक्षसँग उच्चतम लचकताकासाथ अघि बढ्ने निर्णय भएको उल्लेख गर्नु भयो ।

नेता केसीले संविधान निर्माणलाई सार्थक तुल्याउन छलफललाई प्रभावकारी बनाउन थप गृहकार्यका साथ चाँडै अर्को बैठक बस्ने निर्णय भएको छ भन्नु भयो ।

यता, संविधानका विवादित विषयमा कसरी सहमति जुटाउने भन्ने विषयमा बुधबार नेकपा (एमाले) को पदाधिकारीको बैठक बसेको थियो ।

एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा राज्य पुनःसंरचना, राज्य शक्तिको बाँडफाँड तथा शासकीय स्वरूपलगायतका विवादित विषयमा अन्य दलसँगको छलफलमा भाग लिँदा पार्टी कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको थियो ।

एमालेका सचिव प्रदीपकुमार ज्ञवालीका अनुसार पार्टीले प्रदेशको सङ्ख्या निर्धारण गर्दा पहिचान र सामथ्र्यका आधारमा गरिनुपर्ने र पहिचानको पनि स्पष्ट व्याख्या हुनुपर्नेमा पदाधिकारीले जोड दिएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा सकेसम्म पाँच प्रदेश हुँदा मुलुकको आर्थिक भार कम हुने धारणा अगाडि आएको थियो ।

सचिव ज्ञवालीले ती विषयमा दलहरूबीच छलफल गर्ने र सँगसँगै आन्तरिक छलफललाई पनि निरन्तरता दिने सहमति भएको बताउनुभयो । रासस