२९ आश्विन २०८३, बिहिबार

सूचीकृत कम्पनी सिडिएससीमा दर्ता हुनैपर्छ : नेप्से

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

share-oralo9

काठमाडौँ ४ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीलाई दिएको निर्देशनअनुसार सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) मा ७४ कम्पनीमात्र दर्ता भएका छन् ।

नेप्सेमा कुल २३५ कम्पनी सूचीकृत छन् । नेप्सेको निर्देशनलाई १६१ कम्पनीले अटेर गरेका हुन् । सिडिएससीमा २० कम्पनी दर्ता भएका छन् भने ५४ कम्पनी दर्ता प्रक्रियामा रहेका छन् ।

आगामी कात्तिक २ गतेबाट विद्युतीय प्रणालीमा रहेको सेयर (डिम्यान)मात्र कारोबार हुने भएकाले नेप्सेले दिएको निर्देशन कार्यान्वयन नभएको हो । नेप्से र सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सूचीकृत कम्पनीलाई सिडिएससीमार्फत सेयर कारोबार गराउन प्रयास गरेको भएपनि कार्यान्वयन भएको छैन ।

नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले भन्नुभयो, “हामीले दिएको निर्देशन कम्पनीले मानेका छैनन् । उनीहरुलाई आगामी कात्तिकसम्ममा जसरी पनि सिडिएससीमा दर्ता गराएरसेयर डिम्याटमार्फत कारोबार गराइन्छ ।”

नेप्सेमा सूचीकृत कम्पनीले सिडिएससीमा जानै पर्ने बाध्यकारी कानुन भएको स्पष्ट पार्दै उहाँले नेप्सेको निर्देशन तथा सिडिएससीको आह्वान नमान्ने कम्पनीलाई स्पष्टीकरण सोध्ने र सचेत गराउने तयारी भइरहेको जानकारी दिनुभयो ।

महाप्रबन्धक थपलियाले त्यसपछि पनि अटेर गरे भने ती कम्पनीको सेयर कारोबार रोक्का गर्नेदेखि लिएर सूचीकरणबाट नाम हटाउनेसम्मको कारबाही नेप्सेले गर्ने चेतावनी दिनुभयो ।

सिडिएससीका प्रमुख कार्यकारी अधिकृत सुबोध शर्मा सिग्देलले आफ्नो क्षमतालाई विस्तार गरेर हाल औसत दैनिक तीन हजार कारोबार गरिरहेको उल्लेख गर्नुभयो । सिडिएससी पूर्णतया सक्षम भएर कारोबार गर्न थालिसकेको स्पष्ट पार्दै उहाँले नेप्सेमा सूचीकृत सबै कम्पनी सिडिएससीमा दर्ता हुने विश्वास व्यक्त गर्नुभयो ।

सिडिएससीमा कम्पनीहरु दर्ता भएपछि लगानीकर्ताले समेत तोकिएको निक्षेप सङ्ग्रहकर्ता (डीपी)मा गएर आफूसँग भएका कम्पनीको सेयरको विद्युतीय अभिलेख राख्न (डिम्याट गर्न) लगाउनु पर्दछ । रासस