१ कार्तिक २०८३, आइतबार

देशको फिक्रि गर्दै जिग्री, यसरी सुरु गर्दैैछन् न्युट्रल जनता अभियान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gigri

काठमाडौं । हाँस्य कलाकार कुमार कट्टेलले न्युट्रल जनता अभियान थाल्ने भएका छन् । कुनै दल वा पार्टीको पक्षमा नभई देश विकासको पक्षमा रहेर अघि बढ्न उनले सबैसँग अपिल गरेका छन् । ।

राजनितिको फोहोरी खेलले देश झनै बिग्रदै गएकाले अब विकासका लागि दलगत रुपमा नभई स्वतन्त्र नागरिकको रुपमा एक हुन उनले एक लेखमार्फत आग्रह गरेका हुन् । यस्तो छ, उनले जनतामा गरेको अपिल ।

हामी जनता कस्तो भने चुनाव आएको बेलामा मेरो पार्टी यस्तो, मेरो नेता यस्तो भनेर तीन फिटमाथि उचालिन्छौं । नेता र पार्टीका लागि घरपरिवार सबै बिर्सिन्छौं । अनि तेरो पार्टीभन्दा मेरो पार्टी ठिक, तेरो नेताभन्दा मेरो नेता ठिक भनेर एक अर्काको टाउको फोर्छौं ।

जब चुनाव जितेर नेता जान्छन् आफ्नो गाउँमा विकास हुँदैन र हुन लागेपनि विभिन्न अवरोध खडा पर्छन् । सोचेजस्तो हिसाबले देश पनि अघि बढ्दैन, नेताले दिएको आश्वासनहरु पनि पूरा हुँदैनन् । अनि तिनै एकअर्काको टाउको फुटाउने हामी जनता चोकको चिया पसलमा जम्मा हुन्छौं, अनि ‘अनेक थरीका गफ निकालेर कुरा काट्न थाल्छौं ।’

वास्तवमा नेताको राजनीतिले भन्दा हामी जनता–जनताबीचको राजनीतिले गर्दा हाम्रो देश नेपाल यो अवस्थामा आइपुगेको हो । हामी खाली यो नेता त खत्रै हो, भाषण त बबालै दियो भन्ने गर्छौं । अनि चुनावमा नेता आउँदा शिर निहुराएर हजुर भन्दै आउँछन्, भोट माग्छौं, जिताएर पठाउँछौं र चुनावपछि नेताले सिन्को केही नभाँचेपछि चिया पसलमा त्यही नेताको कुरा काट्नमा मात्र सीमित रह्यौं ।

हिजो राजनीतिले भविष्यमा सबथोक दिन्छ, विकास दिन्छ, भविष्य दिन्छ भनेर राजनीतिमा होमिएका हाम्रो बुवा आमाहरुको आज कसैको छोरो छैन, कसैको छोरालाई विदेश पुर्याएको छ भने कसैको छोरालाई देशमै बेरोजगार बनाइदिएको छ ।

५० औं वर्ष राजनीतिमा बिताएका हाम्रा पुर्खाहरुको उपलब्धी यही हो ? पुर्खाहरुले सोचेको विकसित नेपाल यही हो ? अनि हाम्रा पुर्खाहरुले देख्न नपाएको नयाँ र विकसित नेपाल हाम्रो पुस्ताले पनि देख्न नपाए हामी के गर्ने, यो बारेमा पनि हामी सबैले मनन गर्ने कि ?

त्यसैले अब नेता र पार्टीको नाममा विद्यार्थी–विद्यार्थीबीच झगडा हैन, मजदुर–मजदुरबीच झगडा हैन, युवा–युवाबीच झगडा हैन, हामी नेपाली–नेपालीबीच झगडा हैन, हामी सबै नेपाली एक हौं र सुरु गरौं यो फोहोरी राजनीति खेलविरुद्व जनताको आन्दोलन ।

अब हामी सबै मिलेर यस्तो आन्दोलन गरौं जसले भाषण र विनाश हैन काम र विकास मागोस् र त्यो हो नेता र राजनीतिविरुद्व विकासको आन्दोलन । देश विकासको लागि स्वतन्त्र युवाको खाँचो छ । त्यसैले सबै पार्टी नेता त्यागेर आउनुस् छलफल गरौं र मागौं विकास, अनि सुरु गरौं विनाशको आन्दोलन । स्वतन्त्र भएर काम गरे के हुन्न ? धुर्मुस–सुन्तलीबाट सिकौं, त्यसैले बेला आएको छ, ढिलो नगरी सुरु गरौं ।