२ कार्तिक २०८३, सोमबार

बाढीपीडितको राहतका लागि प्रधानमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय समिति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singhadurbar

काठमाडौँ, २ भदौ । सरकारले मुलुकको प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार तथा राहत कार्यक्रमलाई व्यवस्थित बनाउन प्रधानमन्त्रीको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गर्ने भएको छ ।

व्यवस्थापिका–संसद्को सोमबारको दोस्रो बैठकमा सरकारको तर्फबाट धारणा राख्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले समितिमा प्रमुख प्रतिपक्षी दलका नेता समेत सहभागी गराई राहत तथा उद्धार कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाइने जानकारी गराउनुभयो ।

यस्तै समितिमा बाढी पहिरो प्रभावित जिल्लाका सभासद्हरूलाई पनि सहभागी गराइनेछ । सभासद्हरूले समन्वयकारी भूमिका निर्वाह गर्ने, सूचना सङ्कलन गर्न तथा सरकारको तर्फबाट प्रदान गरिने थप सहयोगका लागि लगत सङ्कलन गर्नेछन् ।

गृहमन्त्री गौतमले हालसम्म बाढी पहिरो प्रभावित २४ जिल्लामा १४२ जनाको ज्यान गएको, ८२ घाइते, २५३ बेपत्ता र १२ हजार ७५० घरपरिवार प्रभावित भएको जानकारी दिनुभयो ।

सरकारको तर्फबाट राहत तथा उद्धार कार्य अगाडि बढाउन कुनै पनि कसर बाँकी नराखिएको भन्दै उहाँले कतिपय स्थानमा मौसमी प्रतिकूलताका कारण तत्कालै सम्भव नभएको स्पष्ट पार्नु भयो ।

सरकारको मातहतमा रहेका हेलिकोप्टर उद्धारका लागि तम्तयारी हालतमा राखिएपनि प्रतिकूल मौसमका कारण उड्न नसकेको कतिपय स्थानमा मानव स्रोतबाट नै उद्धार कार्य सम्पन्न गरेको उहाँको कथन थियो ।

सरकारको तर्फबाट प्रदान गरिने सहयोग तथा राहत रकमका कुनै पनि कन्जुस्याई नगरिएको उल्लेख गर्दै उहाँले सबैको समन्वयात्मक प्रयासले मात्र राष्ट्रिय विपत्तिबाट पार पाउन सकिन्छ भन्नुभयो ।

गृहमन्त्रीले सरकारले आफ्नो क्षमताअनुसार नै प्राकृतिक जोखिम न्युनीकरणको प्रयास गरेको र त्यो प्रयास सार्थक हुन नसकेको भन्दै आगामी दिनमा मध्यकालीन, दीर्घकालीन रणनीति तयार गरेर लागू गरिने जानकारी गराउनुभयो ।

यसअधि पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले बाढी पहिरो पीडित जनतालाई तत्काल सेवा सुविधा दिनुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । रासस