काठमाडौँ, २ भदौ । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीको राजीनामा र बर्खास्त गरिएका पत्रकारको पुनःबहालीको माग गर्दै सुरु गरिएको आन्दोलनमा नेपाल पत्रकार महासङ्घलगायत पत्रकारिता क्षेत्रका संघसंस्थाले ऐक्यबद्धता जनाएका छन् ।
सिंहदरबारस्थित रेडियो नेपालको केन्द्रीय स्टुडियोमा जारी सो आन्दोलनअन्तर्गत गत शुक्रबारदेखि नेपाल पत्रकार महासंघ, शाखासहित त्यहाँस्थित सात विभिन्न संस्थाले कार्यकारी निर्देशक कार्कीलाई कार्यालय प्रवेशमा रोक लगाउँदै आएका छन् ।
व्यवस्थापनले आन्दोलनमा लागेको भन्दै पत्रकारहरू ध्रुव सापकोटा र सन्तोष रेग्मीलाई बर्खास्त गर्ने निर्णय गरेपछि कर्मचारी थप आक्रोशित भएका हुन् । रेडियो नेपालमा आज आयोजित कोणसभामा महासंघका प्रतिष्ठान इञ्चार्ज सुरज आचार्यले संस्थाभित्रका सबै कर्मचारीलाई विश्वासमा लिन नसक्ने कार्यकारी निर्देशक कार्कीले राजीनामा दिएर समस्याको समाधान गर्न माग गर्नुभयो ।
महासंघका पूर्व महासचिव पोषण केसीले आम नेपाली जनताले अपेक्षा गरेअनुसार सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा जाने तयारी भइरहेका बेला असक्षम नेतृत्वका कारण रेडियोको भविष्य अन्योलमा परेको बताउनुभयो ।
नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समीरजंग शाहले आम कर्मचारी आन्दोलनमा उत्रिसकेको अवस्थामा कार्कीले राजीनामा दिनुको विकल्प नभएको बताउनुभयो । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सुरोजंग पाण्डेले कार्यकारी निर्देशक कार्कीका कारण रेडियो नेपाल आन्तरिक रुपमा समस्याग्रस्त बनेकाले उहाँले राजीनामा नदिए सरकारले नै हटाउनुपर्ने बताउनुभयो ।
नेपाल टेलिकम कर्मचारी संगठनका अध्यक्ष कृष्णमान श्रेष्ठ, महासङ्घका नेपाल टेलिभिजन शाखाका अध्यक्ष शालिक सुवेदी, वरिष्ठ संगीतकार टीका भण्डारी, प्रेस चौतारी नेपाल, प्रतिष्ठान अञ्चलका अध्यक्ष प्रकाश सिलवाललगायतले आन्दोलनप्रति ऐक्यबद्धता जनाउनुभएको थियो । रासस
















प्रतिक्रिया