११ कार्तिक २०८३, बुधबार

प्रचण्डको ठूलो खुलासा, ‘मलाई मुद्दा हाल्ने र जेल पठाउने योजना बुनियो’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachandकाठमाडौं, ६ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्नु भएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

हामी संसदमा गणितका हिसाबले तेस्रो दल हौँला । तर, पछिल्ला घटनाक्रमले हामीलाई पहिलो दलका रूपमा स्थापित गरिसकेको छ । हामीले १० वटा माओवादी घटकलाई मिलाएर नयाँ माओवादी बनाएका छौँ । हामी अहिले पहिलो शक्तिका रूपमा उभिएका छौँ । अरूले होच्याउने, खिसिटिउरे गर्ने गरे पनि त्यसको सशक्त प्रतिवाद गर्दै हामी अगाडि बढ्नुपर्छ । हामी विगतमा प्रतिपक्षमा भए पनि भूकम्पपछिको स्थितिमा प्रतिपक्षी व्यवहार कहिल्यै प्रदर्शन गरेनौँ ।

त्यसवेला संविधान निर्माणको पहल हामीले नै लियौँ । संविधानमा आदिवासी थारू, मधेसीहरू समेटिन सकेनन् । उनीहरूको माग सम्बोधन गर्ने विषयमा आवाज उठाइरह्यौँ, तर त्यस विषयमा पनि ओलीजीले पहल लिन सक्नुभएन । उहाँ मधेसी, थारूहरूको माग सम्बोधन गर्ने सवालमा असफल हुनुभयो । गोरखा, ओखलढुंगालगायतका क्षेत्रमा माओवादी नेता–कार्यकर्तामाथि यसबीचमा मुद्दा लगाउने काम भयो ।

अझ त्यस्तो काममा एमालेनिकटका कानुन व्यवसायी नै अग्रपंक्तिमा उभिएर लागे । माओवादीमा पनि प्रचण्डलाई नै मुद्दा हाल्ने र जेल चलान गर्नुपर्नेजस्ता योजनासम्म उनीहरूले बुने । माओवादीलाई ह्याँकुलाले मिच्न सकिन्छ भनेजसरी उहाँहरू लाग्नुभयो । सत्तासाझेदार दलको व्यवहार माओवादीसँग कहिल्यै देखाउनुभएन ।

उहाँहरू भन्ने गर्नुहुन्थ्यो, माओवादीले सरकार छाड्नै सक्दैन, छाड्यो भने पनि छाडेकै दिन सकिन्छ । हामीले एमालेसँग १४ बुँदे, नौबुँदे हुँदै तीनबुँदे भद्र सहमितसमेत गयौँ, तर त्यसको कहीँ–कतै कार्यान्वयन गरिएन । त्यसले हामीलाई नैतिकतामाथि प्रश्न उठायो । एमाले नेतृत्वको सरकार छाड्ने हाम्रो बाध्यता बन्न गयो । अल्पमतमा परिसकेपछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने हो । तर, उहाँले त्यसरी सोच्नुभएन ।

भिडन्तको बाटो खोज्नुभयो । हामी अझै पनि सहमतिका लागि तयार छौँ । भोलि ९बिहीबार० संसद् बैठकअगाडिसम्म पनि उहाँले राजीनामा दिएर सहज निकास खोज्दा राम्रो हुन्छ । उहाँले त्यसरी सोच्नुभएन भने संसद्मा अविश्वास प्रस्तावमाथि छलफल हुन्छ । त्यहाँ दृढतापूर्वक उभिएर अविश्वास प्रस्तावमा मतदान गरेर जानुपर्छ । त्यसका लागि अन्य दलसँग पनि पहलकदमी लिन म आग्रह गर्छु ।