बागलुङ, ५ साउन । नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले संसद्बाट बनेको सरकारलाई संसद्ले मात्र हटाउन सक्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल, बागलुङ शाखाले बुधबार यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पोखरेलले भन्नुभयो “अविश्वास प्रस्ताव दर्ता गराउनेसँग पनि अहिले बहुमत छैन, संसद्ले परीक्षण नगरी अहिलेको सरकारलाई अल्पमतमा छ, भन्न मिल्दैन ।”
उहाँले वर्तमान सरकारको विरुद्ध परेको अविश्वासको प्रस्तावमाथि संसद्बाट परिपक्व र संवैधानिक निर्णय हुन बाँकी रहेको धारणा राख्नुभयो ।
नेता पोखरेलले अविश्वासको प्रस्ताव राख्ने दलसँग पनि अहिले बहुमत नरहेको बताउनुभयो ।
पूर्व सञ्चारमन्त्री समेत रहनुभएका नेता पोखरेलले संसद्को बहुमतले जे निर्णय गर्छ, त्यो एमालेलाई मान्य हुने उल्लेख गर्नुभयो ।
उहाँले संविधानमा भएका व्यवस्थालाई पालना गरेर वर्तमान सरकार अघि बढ्ने बताउनुभयो ।
“सङ्क्रमणकालीन अवस्थामा संविधानले एकभन्दा बढी सरकारको कल्पना गरेको छैन, दलीय सहमतिका बेला बनेको संविधानमा त्यो आवश्यकता नठानेर नराखिएको हुनसक्छ” नेता पोखरेलले भन्नुभयो ।
उहाँले अविश्वासको प्रस्ताव पारित भएको खण्डमा पनि नयाँ सरकार गठनका लागि संविधानमा भएका अस्पष्टतालाई हटाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । संविधान संशोधन, बाधा हट्काउ फुकाउ वा अदालती फैसलाबाट मात्र अघि बढ्न सक्ने अवस्था रहेको उहाँको भनाइ छ । एमालेसँग सत्तामा टिकिरहने मनसाय नरहेको स्पष्ट पार्दै संवैधानिक व्यवस्थालाई सबैले पालना गर्नुपर्नेमा जोड दिनुभयो । रासस













प्रतिक्रिया