काठमाडौँ, ५ साउन । दलबीचमा चुलिएको अविश्वासको वातावरणलाई सहमतिका आधारमा अन्त्य गर्न सभामुख ओनसरी घर्तीले राजनीतिक भेटघाटलाई तीव्रता दिनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) ले नेपाली काँग्रेससित मिलेर असार २९ गते व्यवस्थापिका–संसद्मा सरकारका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि दलका बीचमा अविश्वासको वातावरण चुलिएको थियो । सो अविश्वासको प्रस्तावमा माथि भोलि सदनमा छलफल हुँदैछ ।
यस क्रममा उहाँले आज बिहान नेका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका निवास पुगी ती दुवै अध्यक्षलाई सहमतिका आधारमा संसद्को गतिविधि अघि बढाउन आग्रह गर्नुभएको थियो ।
सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले दिनुभएको जानकारी अनुसार ती दुवै भेटमा सभामुख घर्तीले दुवै शीर्ष नेतालाई राजनीतिक सहमतिको वातावरण बनाउन आग्रह गर्नुभएको थियो ।
दलका बीचमा अविश्वासको प्रस्तावमाथि पहिलो छलफल गर्ने की विनियोजन विधेयक माथि पहिलो छलफल गर्ने विषयमा विवाद चुलिएको छ ।
नेकपा (एमाले) ले विनियोजन विधेयक माथि छलफल भएपछि मात्र अन्य विषयले सदनमा प्रवेश गराउनुपर्ने माग गरेको छ भने काँग्रेस र माओवादी केन्द्रले अविश्वास प्रस्ताव टुङ्गो लगाएपछि मात्र अरु विषयले प्रवेश पाउनुपर्छ भन्ने माग राख्दै आएको छ ।
कार्यसूचीका विषयमा दलीय सहमति बनाउन पनि सभामुख घर्तीले शीर्ष नेतृत्वलाई ध्यानार्षण गराउँदै सहमति नभएमा यसअघि सूचित कार्यसूचीलाई नै अघि बढाउन आफू बाध्य हुने जानकारी उहाँहरुलाई गराउनुभएको थियो ।
सो अवसरमा नेकाका सभापति देउवाले सहमतिका लागि प्रयास भइराखेको सभामुख घर्तीलाई जानकारी दिँदै भोलिसम्ममा निकास निस्कने बताउनुभएको थियो ।
यसैगरी अध्यक्ष दाहालले पनि दलका बीचमा देखिएका भनिएको अविश्वासलाई विश्वासमा रुपान्तरण गर्न प्रयास भइराखेको बताउनुभएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसित सभामुख घर्तीले मङ्गलबार भेटघाट गर्नुभएको थियो । रासस














प्रतिक्रिया