काठमाडौं, ३ साउन । सरकार परिवर्तनको पछिल्लो परिस्थितीबारे उत्तरी छिमेकी चीनबाट नयाँ धारणा आएको छ ।
सरकारबाट समर्थन फिर्ता लिँदै नेकपा माओवादी केन्द्रले कांग्रेससँग मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गरिसकेका बेला चीनले केही समय अहिलेकै सरकारलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेको हो ।
भारतीय पत्रिका इन्डियन एक्सप्रेसले चीनको यो धारणाको खुलासा गरेको हो । आइतबार छापिएको समाचारमा कम्तिमा चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्ने भनेको नेपाल भ्रमणसम्म यही सरकार रहिरहोस् भन्ने चाहना चिनियाँ पक्षको रहेको उल्लेख छ ।
माओवादीले सरकार छाडेपछि चिनियाँ पक्षले काठमाडौंमा विभिन्न पार्टीका नेताहरुसँग छलफलमा गरिरहेको र अहिलेकै गठबन्धन नभत्किन दिन लबिङ गरिरहेको समाचारमा उल्लेख छ ।
भारतले सरकार ढाल्न खोजेको आरोप लागिरहेका बेला इन्डियन एक्सप्रेसले लेखेको छ, ‘एउटा चिनियाँ डेलिगेसन काठमाडौंको याक एण्ड यति होटलमा बसेर प्रधानमन्त्री ओलीको पक्षमा बहुमत बनाउन खुलेर लागेको छ । कम्तिमा चिनियाँ राष्ट्रपति सि जिनपिङको हुने भनिएको नेपाल भ्रमणसम्म चीन यही सरकारको निरन्तरता चाहन्छ ।’
यसअघि चिनियाँ राष्ट्रपतिले असोज ३० गतेभित्र नेपालको भ्रमण गर्ने समाचार आएको थियो ।













प्रतिक्रिया