काठमाडौँ, २ भदौ । नेपाल इञ्जिनियर्स एसोसिएसनले प्रधानमन्त्री सुशील कोइरालालाई सिन्धुपाल्चोकको तीनजुरेमा गएको पहिरोले निकास थुनिएर तालिएको सुनकोसी नदीको पानी निकास, बाढी र पहिरोले क्षतिग्रस्त सडकहरुको पुनर्निर्माण र सञ्चालनका सम्बन्धमा तयार पारेको प्रतिवेदन हस्तान्तरण गरेको छ ।
एसोसिएसनका अध्यक्ष इञ्जिनियर ध्रुव थापाको नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार साँझ प्रधानमन्त्री कोइरालालाई भेटी सो प्रतिवेदन हस्तान्तरण गरेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताउनुभएको छ ।
एसोसिएसनका अध्यक्ष थापाले प्रतिवेदन हस्तान्तरण गर्दै जलविज्ञ, भूगर्भविद् र सडक इञ्जिनियरलगायतका विज्ञहरुले तयार पारेको सो प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई स्वयम्सेवीका रुपमा सघाउन एसोसिएसन तयार रहेको जानकारी दिनुभयो ।
अध्यक्ष थापाले पहिरोले अवरुद्ध नदीलाई निकास दिने र नेपाल चीनबीचको व्यापारको महत्वपूर्ण मार्ग बनेको कोदारी राजमार्गको क्षतिग्रस्त खण्डमा वैकल्पिक मार्ग निर्माण गर्ने विषयमा प्रतिवेदन केन्द्रित भएको बताउनुभयो । उहाँले सो मार्ग छिट्टै निर्र्माण गरी सञ्चालन गर्न नसकिएमा दसैँका बेला नेपालमा कतिपय उपभोग्य सामग्रीको अभाव हुनेसमेत बताउनुभएको थियो ।
प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले सरकारले पहिरोपछि उद्धार र राहत वितरणमा तदारुकताका साथ काम गरिरहेको बताउँदै पुनःस्थापना र पुनःनिर्माणको प्रक्रियालाई पनि सँगसँगै बढाइएको बताउनुभयो ।
नेपाल सरकारले नेपाली सेना, नेपाल प्रहरी र स्थानीय प्रशासन परिचालन गरी प्राकृतिक प्रकोप पीडितहरुलाई उद्धार, राहत वितरण र पुनःस्थापना गरिरहेको बताउँदै प्रधानमन्त्री कोइरालाले मानव कल्याणको यस कार्यमा समर्पित समस्त निकायका राष्ट्रसेवक कर्मचारी, स्थानीय जनता, विभिन्न सङ्घसंस्था र निकायसहित प्रधानमन्त्री राहतकोषमा योगदान गर्ने महानुभावलाई धन्यवाद पनि दिनुभएको थियो ।
एसोसिएसनका अध्यक्ष थापाले एक प्रति प्रतिवेदन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेललाई पनि हस्तान्तरण गर्नुभएको थियो । रासस
















प्रतिक्रिया