काठमाडौं, २ भदौ । व्यवस्थापिका संसदअन्तर्गतका अधिकांश संसदीय समितिमा दलहरूले सभापतिको नाम सिफारिस गरिसकेका छन् ।
स्रोतका अनुसार कांग्रेसले आफ्नो भागमा पाएको चार समितिमा सभापतिहरूको नाम संसद सचिवालयमा बुझाएको छ । संसदीय सुनुवाइ विशेष समितिको सभापतिका लागि कांग्रेसले कुलबहादुर गुरुङको नाम सिफारिस गरेको छ । राज्यव्यवस्था समितिको सभापतिमा दिलबहादुर घर्ती, कृषि तथा जलस्रोत समितिमा गगन थापा र उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिमा भीष्माराज आङदम्वे रहेका छन् ।
एमालेले पनि आफ्नो भागमा परेका समितिहरूका लागि सभापतिको नाम सिफारिस गरेको छ । अर्थ समितिमा रवीन्द्र अधिकारी, महिला, बालबालिका, जेष्ठ नागरिक, समाजकल्याण समितिमा प्रकाश ज्वाला, सुशासन अनुगमन समितिमा शेरधन राई र विकास समितिमा रञ्जु झालाई सिफारिस गरेको स्रोतले जनाएको छ ।
राप्रपा नेपालले आफ्नो भागमा परेको सामाजिक न्याय तथा मानव अधिकार समितिमा सुशीलकुमार श्रेष्ठलाई सिफारिस गरेको छ ।
एमाओवादीले अन्तर्राष्ट्रिय सम्बन्ध र श्रम समितिमा प्रभु साहलाई सभापतिमा सिफारिस गरेको छ ।
एमाओवादीले यसअघि लेखा समितिमा जनार्दन शर्मालाई सभपाति बनाइ सकेको छ । विधानयन समितिमा साना दलहरूले अझै कसैलाई सिफारिस गरेका छैनन् ।
उता मधेस केन्द्रित दलहरूले पनि आफ्नो भागमा परेको वातावरण संरक्षण समितिको सभापतिको नाम नपठाएको संसद सचिवालय स्रोतको भनाइ छ ।
लामो समयपछि दलहरूका वीच भागबण्डा मिलेपछि समितिहरूमा सभापति सिफारिस भएको हो ।
















प्रतिक्रिया