गोलबजार (सिरहा), २ भदौ । नेपाली काँग्रेसका स्वतन्त्रता सेनानी विष्णु गुरमैताको ९५ वर्षको उमेरमा आइतबार साँझ निधन भएको छ । उहाँ मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो ।
सिरहा नगरपालिका–१ घर भएका गुरमैताले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भूमिगत आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियोे । उहाँको दुई छोरा छन् ।
यता, सिरहा–चोहर्बा सडकखण्डमा आइतबारराति भएको सडक दुर्घटनामा बेल्हा–९ की ४० वर्षीया उर्मिलादेवी कर्णको मृत्यु भएको छ ।
स२प ३८६२ नम्बरको मोटरसाइकलमा आफन्तसँग मिर्चैयातर्फ गइरहेको अवस्थामा बिआर ३२ एच ५६०६ नम्बरको भारतीय मोटरसाइकलले उछिन्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण गिरीले जानकारी दिनुभयो ।
मोटरसाइकलमा पछाडि बसेकी कर्ण लडेपछि टाउकोमा गम्भीर चोट लागेका कारण दुर्घटनास्थलमै उनकी मृत्यु भएको प्रहरीले जनाएको छ । भारतीय मोटरसाइकल र त्यसको चालक भारत मधुवनी जिल्लाका गङ्गाप्रसाद मण्डललाई प्रहरी चौकी बेल्हाले नियन्त्रणमा लिएको छ । रासस
















प्रतिक्रिया