२ कार्तिक २०८३, सोमबार

अपाङ्गलाई टेलिकमको सहुलियतमा भिडियो कल सेवा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Telecom-final

काठमाडौँ, २ साउन । नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने (बहिरा) व्यक्तिका लागि सहुलियत दरमा भिडियो कल सेवा उपलब्ध गराउन थालेको छ ।

बहिरालाई सहुलियतमा भिडियो कल तथा जनआन्दोलनका घाइते एवम् अपाङ्गता भएका व्यक्तिलाई सहुलियतमा सिम÷रिम उपलब्ध गराउने टेलिकमले जनाएको छ ।

कम्पनीको मोबाइल नम्बर सिममा कम्पनीको नेटवर्कभित्रका लागि मात्र उपलब्ध गराइने यो भिडियो कल सेवाको महसुल प्रतिमिनेट रु ५० पैसा (कर बाहेक) तोकिएको टेलिकमका सह–प्रवक्ता डिल्लीराम अधिकारीले बताउनुभयो ।

हाल यो योजनामा आबद्ध सिममा २०७३ असार ३१ गतेदेखि नै सहुलियत दरको यो सेवा उपलब्ध गराउन थालिसकिएको छ । बहिरा अपाङ्गताको पहिचान खुल्ने कागजातसहित नेपाल टेलिकमको काउन्टरमा सम्पर्क गरी रु ९० मा रु ५० को टक टाइम भएको सिममार्फत यो प्याकेज प्राप्त गर्न सकिनेछ ।

त्यसैगरी, २०६२/०६३ को जनआन्दोलनका घाइते एवम् पूर्णरुपमा शारीरिक अपाङ्गता भएका व्यक्तिलाई एकपटकका लागि जिएसएम प्रविधिको प्रिपेड सिम वा सिडिएमए प्रविधिको रिमकार्ड एक थान निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको जनाइएको छ । यसअनुसार २०७३ साउन ३ गतेदेखि निःशुल्क सिम तथा रिम उपलब्ध गराउने योजना छ ।

उक्त सेवा लिन जनआन्दोलनका घाइतेले सरकारी परिचयपत्रसहित एकप्रति फोटो र नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ । शारीरिक अपाङ्गता भएका व्यक्तिले समाज कल्याण परिषद्बाट जारी भएको परिचयपत्र (रातो कार्ड) सहित एकप्रति फोटो र आफ्नो नागरिकताको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

यी सबै सेवाका लागि नेपाल टेलिकमको आफूलाई पायक पर्ने काउन्टरमा सम्पर्क राख्न सकिनेछ । यो योजना अगामी २०७३ माघ मसान्तसम्म मात्र लागू हुने टेलिकमले जनाएको छ । रासस