
– आनन्द पोखरेल, पर्यटन मन्त्री
हाम्रो देश सुन्दर छ । शान्त छ । यहाँका स्निग्ध हिमालले कस्को मन नलोभ्याउला ? पर्यटन बिकासका अथाह सम्भावना छन् । तर, तिनको उचित उत्खनन जरुरी छ । नेपालमा जस्तो पर्यटन बिकासको प्रचुर सम्भावना भएका मुलुक संसारमा थोरै छन् । पर्यटनमार्फत सम्बृद्धि भित्र्याउन सकेमा मुलुकले बिकासको काँचुली फेर्नेमा दुई मत नहोला । सरकारले त्यसका लागि विविध योजना ल्याएको छ र कार्यान्वयन पनि गरिरहेको छ ।
सर्वोच्च शिखर सगरमाथा हाम्रै देशमा छ । जैविक विविधताको क्षेत्रमा हामी अत्यन्तै धनी छौं । त्यो भन्दा महत्वपूर्ण, हाम्रो देशमा धार्मिक र सांस्कृतिक पर्यटनको अथाह सम्भावना छ । नेपाल, भगवान गौतम बुद्धको जन्मस्थल हो । बुद्ध दर्शनलाई आजको दिनमा सारा संसारले अपनाएको छ । बुद्ध धर्म र दर्शनकोे कर्मभूमि हाम्रै देश भएकाले अनुयायीलाई बुद्ध जन्मस्थल लुम्बिनी ल्याएर यहाँका ऐतिहासिक र पुरातात्विकस्थलहरुमा घुमाउन सके पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने निश्चित छ । विश्वका करिब ८० करोड बढी बुद्ध अनुयायीलाई एकपटक ‘बुद्धसर्किट’मा घुमाउन मात्र सक्यो भने त्यो हाम्रा लागि ठूलो उपलब्धि हुनेछ । ती महत्वपूर्ण ऐतिहासिकस्थलको प्रचारप्रसार स्वतः हुनेछ ।
मेचीदेखि महाकालीसम्म, सबैतिर पर्यटन विकासका थुपै्र सम्भावना छन् । लुम्बिनी, पोखरा, काठमाडौं उपत्यका बौद्ध दर्शनका थलो मात्रै होइनन्, हाम्रा धरोहर समेत हुन । बौद्ध, स्वयम्भु, नमोबुद्ध र तिमाल क्षेत्र गहना हुन् । मध्यपश्चिमको सुर्खेतस्थित काँक्रेविहार त्यस्तै अर्को पवित्र धार्मिक तीर्थस्थल हो । त्यहाँ बौद्ध इतिहास कुँदिएको छ । अब एकबर्षभित्र त्यहाँ शिखरशैलीको आकर्षक बौद्ध बिहार ठडिनेछ । पुरातत्व बिभागले जिर्णोद्दारको ठेक्का दिइसकेको छ । त्यहाँ २१ मिटर अग्लो बौद्ध बिहार ठडिनेछ ।
काठमाडौंमा आएर ८ हजारको ‘वेटर’ बन्न आउने तर गाउँमा खेती किसानी नगर्ने धेरै छन् । यो नेपालको तितो यथार्थ हो । यो समस्याका कारण शिक्षित र अर्धशिक्षित तथा दक्ष र अदक्ष सबै जनशक्ति विदेशिएको छ । नेपालमा धेरै सम्भावनाहरु छन् भनिरहेको बेलामा यो कामका लागि युवा परिचालन गर्नु जरुरी छ ।
सरकारले करौडौं खर्चेर पुरानै ढाँचा र शैलीमा बौद्ध मुर्तीहरु प्रतिस्थापनको काम गरिरहेको हो । एकबर्षभित्रै त्यहाँ पुरानो संरचना नखल्बिने गरेर जिर्णोद्दार सकिनेछ । बुद्ध दर्शनलाई प्रचारप्रसार मात्र गर्न सक्यौं भने पनि विदेशी पर्यटकलाई आकर्षित गर्न सक्छौं । लुम्बिनीलाई केन्द्रमा राखेर त्यस वरिपरीका सर्किटहरुमा धार्मिक पर्यटकलाई मात्रै घुमाउन सके स्थानीयबासीले थुप्रै फाइदा लिन सक्नेछन् ।
अर्कोतिर हिन्दू संस्कृति आफैमा अलौकिक छ । संसारको सबभन्दा पहिलो दर्शन नै हिन्दू दर्शन हो । त्यसपछि अरु दर्शन आएका हुन । यो दर्शनको उद्गमथलो नेपालको हिमालय क्षेत्र हो । भगवान विष्णुको अवतार भएको ठाउँ नेपाल नै हो । यसकारण विश्वका एक अर्ब हिन्दू अनुयायी मध्ये १ प्रतिशत आएपनि १० लाख हुन्छ । हामीसँग जीवित संस्कृति छ । १२६ जनजाति, १२३ भाषाभाषी भएको देश, सांस्कृतिक विविधतायुक्त छ । यो विविधताको संस्कृतिलाई प्रवद्र्धन गर्न होमस्टेलाई व्यवस्थित गर्दैछौं । अहिले गाउँगाउँमा होमस्टे खोल्ने रहरनै चलेको छ । त्यसले संस्कृति र सभ्यताका विविध आयामहरु समेत ‘एक्सचेन्ज’ गर्न मद्दत पुग्नेछ ।
पर्या–पर्यटन र इको टुरिज्म अर्को महत्वपूर्ण विषय हो । वनजंगल, दुर्लभ वन्यजन्तु हेर्नकै लागि पर्यटकको घुँइचो लाग्छ । माइक्रोप्लान्ट, हामीले गर्ने खेतिपाती, जलवायु परिवर्तन लगायत इको टुरिज्मभित्र पर्छन । इको टुरिज्मलाई नयाँ ढंगले जिरो कार्बन टुरिज्म भनेर चिनिन्छ । यसका लागि गाउँमा जानुपर्छ । यो भनेको के हो भने, त्यो क्षेत्रभित्र, त्यो रेष्टुरेन्ट अथवा लज र होटलभित्र कार्बन उत्पन्न र उत्सर्जन हुने स्थिति नहुनु हो । कार्बन उत्सर्जन कोइला, दाउरा र ग्यासबाट हुन्छ । यी तीनबाट मुक्त माइक्रो हाइड्रो अथवा कुनै हाइड्रो पावरबाट हुनसक्छ । विश्वका वातावरणविद् जलवायु परिवर्तनको प्रभाव र त्यसका असरहरुका बारेमा काम गरिरहेका छन् । त्यसको असर भोगिरहेकाहरु मानिस नेपालमा जिरो कार्बन भएको क्षेत्रमा बस्न चाहन्छन् ।
जैविक कृषि पर्यटन पनि महत्वपूर्ण छ । गाउँगाउँमा, टोलटोलमा कुनैपनि केमिकल प्रयोग नगरेको कृषिको विकास गर्नुपर्छ । यसको विकास गरिसकेपछि पर्यटनलाई कृषकको घर र खेतमा पु¥याउन सकिन्छ । ‘अग्र्यानिक खानाका लागि कृषकको घरमै’ भन्ने नाराका साथ जानुपर्छ । त्यसो भयो भने किसानले मनग्यै फाइदा पाउनेछन् । खेतबारीमै गएर सागसब्जी, फलफूल जे छ पकाएर खायो, अर्गानिक सुन्तलाबारीमा अथवा स्याउबारीमा जाउँ कति खानु छ खाउँ । बारीमै पैसा ति¥यो, सक्कियो । यो महत्वपूर्ण क्षेत्र हो । जसलाई पर्यटन प्रवद्र्धनका लागि ध्यान दिनसक्छौं ।
जल यातायात पनि सम्भावनाको संसार हो । फेवाताल र बेगनास तालको प्रयोग हेरौं । ती तालबाट फाइदा लिने थुप्रै छन् । त्यस्ता तालहरु देशका कुनाकुनामा थुप्रै छन् । जहाँ ट्रेकिङ, ¥याफ्टिङ, प्याराग्लाइडिङ गर्न सकिन्छ । प्रकृति, संस्कृति, मानिसको बानीव्यहोरा, खाद्यान्नको शैली अरुका लागि अनुकरणीय हुन सक्छन । इन्सिेस्टिसाइ र पेण्टिसाइ मुक्त अर्गानिक मुक्त खानेकुरा दिन सक्यौं भने परिवर्तन आउन बेर लाग्दैन । हाम्रो मुलुकमा अहिले कार्बनको हिसाबले ०.५ प्रतिशत मात्रै उत्सर्जन हुन्छ । जबकी छिमेकी चीनको २५ प्रतिशत र भारतको १५ प्रतिशत छ । हामी दुबै मुलुककोे बीचमा छौं । उनीहरुले उत्सर्जन गरेको कार्बन हाम्रो मुलुकमा आउँछ । त्यसो गर्दागर्दै पनि ०.५ प्रतिशत हाम्रो मुलुकमा कार्बन छ । सिंगो मुलुकलाई नै हामी कार्बनरहित बनाउन सक्छौं । त्यसकारण यी चिजहरुलाई प्रवद्र्धन गरेर व्यवस्थित गर्नुपर्छ ।
पर्यटनको प्रचुर सम्भावनाले सिंगो मुलुकको जनसंख्यालाई रोजगारी र समृद्धिको बाटोमा लान्छ । यहीमार्फत मुलुकको आर्थिक विकासमा फड्को मार्नसक्छ । यस्ता सम्भावनालाई साकार पार्न सरकारका नीति तथा कार्यक्रममा स्पष्ट रुपमा उल्लेख गरेका छौं । माथि भनेका सबै क्षेत्रलाई सम्बोधन हुनेगरी बजेट आएको छ । जस्तो राष्ट्रिय संस्कृति संग्रहालय निर्माण । जसमा विगतको नेपालदेखि आधुनिक नेपालसम्मको संस्कृति एकै ठाउँमा संरक्षण गरेर राख्ने दीर्घकालिन योजना छ । अर्गानिक र परम्परागत खेतीलाई पनि महत्व दिइरहेका छौं । सात वटा प्रदेशमा सातवटा नयाँ गन्तव्य निर्माण गर्ने दिशातिर अघि बढिरहेका छौं । संस्कृतिको प्रवद्र्धन गर्नका लागि पहिलोपटक क्षेत्र नै तोकेर हामीले बजेट छुट्याएका छौं । मधेसलाई प्राथमिकता दिएका छौं । मुलुकमा ठूला होटल र लजहरु खुले मात्रै पर्यटक आउँछन भन्ने होइन् । पर्यटनलाई जनतासँग जोड्नुपर्छ । स्थानीय संस्कृति, भेषभुषा र अर्गानिक कृषिलाई चिनाउन प्रयत्न गर्नुपर्छ, होमस्टेका लागि । यसपटकको बजेटमा पर्यटन विकासका लागि नयाँ दृष्टिकोण दिइएको छ । सबैको सहयोगी भनेको निजी क्षेत्र हो, सरकारी क्षेत्र हो । पर्यटनमा सहकारी आएका छैनन् । अब आउनुपर्छ भन्ने मान्यता अहिलेको बजेटले अंगालेको छ ।
योजना लागू भइसक्यो । जनतालाई छुन्छ कि छुँदैन भन्दा पनि पर्यटकलाई कति छुन्छ भन्ने कुरा महत्वपूर्ण हो । उनीहरुलाई होमस्टेमार्फत गाउँमा पु¥याउनसक्यौं भने जनतालाई छुन्छ । त्यसैले बर्दिया, चितवन, नवलपरासी, कैलाली, कञ्चनपुर, लमजुङ लगायत थुप्रै जिल्लामा होमस्टे खुलेका छन् । तिनमा पर्यटकको नजर पर्ने बनाउनुपर्छ । सफा सुग्घर पनि हुनुप¥यो ।
नेपालमा युवा सबैभन्दा बढी बेरोजगार छन् । वर्षको चार लाख श्रमशक्ति नेपाली बजारमा आउँछ । त्यो आएको सबैश्रम शक्ति अहिले जग्गा बन्धकी राख्दै सहकारीबाट ऋण लिएर विदेशमा जाने परिस्थिति भइरहेको छ । यसो हुनुको पछाडि दुईटा कारण छन् । एउटा हाम्रो जमिनको उत्पादन घट्यो । दोस्रो चीन र भारतले अत्यन्त ‘हाईसब्सिटी’ दिए । त्यसले नेपालमा मूल्य बढ्छ । काठमाडौंमा आएर ८ हजारको ‘वेटर’ बन्न आउने तर गाउँमा खेती किसानी नगर्ने धेरै छन् । यो नेपालको तितो यथार्थ हो । यो समस्याका कारण शिक्षित र अर्धशिक्षित तथा दक्ष र अदक्ष सबै जनशक्ति विदेशिएको छ । नेपालमा धेरै सम्भावनाहरु छन् भनिरहेको बेलामा यो कामका लागि युवा परिचालन गर्नु जरुरी छ । मुलुकमा हाम्रा प्राकृतिक र सांस्कृतिक स्रोत, जैविक र एनिमल स्रोत लगायतलाई प्रयोग गरेर युवालाई व्यवसायिक बनाउन सकिन्छ । त्यसमार्फत अघि बढ्नुपर्छ भन्ने मान्यता सरकारको नीति तथा कार्यक्रमले समेत पारित गरेको छ । रेमिट्यान्सले मुलुकको अर्थतन्त्र समृद्ध गर्न सक्दैन् ।
नेपाल शैक्षिक थलो पनि बन्न सक्छ । हाम्रा स्रोतहरुलाई उपभोग र उपयोग गर्न, साँच्चिकै मुलुकमा समृद्धि ल्याउन नयाँ संविधान बनेको छ । नयाँ संविधानपछि राजनीतिक अधिकारहरु प्राप्त गरिसक्यौँ । र, अब समृद्धिको मात्रै काम बाँकी छ । राजनीतिक दलले पनि हाम्रो एजेण्डा आर्थिक मात्रै हुनुपर्छ भनिरहेको बेलामा हामीले पहिलो कुरा त नेपालमा युवाहरुलाई यहीँ बस्न सक्ने वातावरण तयार गर्नुपर्छ । पुर्वाधार तयार गर्नुपर्छ । त्यो शैक्षिक कुरा, आर्थिक कुरा र सीपमुलक कुरालाई ग्यारेन्टी गर्ने चुनौति भने छ । आफ्ना नीति कार्यक्रमलाई श्रम र स्रोततर्फ लगायौँ भने हामीले विदेश गइरहेको श्रम शक्तिलाई रोक्न सक्छौं । त्यो रोक्न सक्ने प्रयासमा सार्थकता पाउछौं ।
धेरै विदेशमा पढिराखेका छन् । उनीहरुले परिवारसहित अत्यन्त सानदार जीवन पनि बिताएका छन् । कसैले अत्यन्त कमजोर जीवन पनि बिताएका छन् । अमेरिकाका नागरिकले समय र श्रमको महत्वलाई बुझेको छ । त्यसपछि पूँजी तथा प्रबिधिलाई बुझेको छ । गभर्नेन्स छ र आप्रवासीहरुको अमेरिकामा भीडभाड छ । यी ६ वटा चीजहरुबाट अमेरिका समृद्ध भएको निचोड मैले त्यहाँ जाँदा निकालेको थिएँ र आलेख नै प्रकाशित गरेको थिएँ । हाम्रै मान्छे अमेरिका गएर त्यहाँ समृद्धि ल्याएका हुन । त्यो दिमागलाई नेपाल फर्काउने चुनौती छ ।
अमेरिकामा बस्ने साथीहरुको चिन्तन नेपाल सबै बिग्रियो । हामीले मात्रै सबै ठीक गरेका छौं भन्ने खालको छ । त्यो चिन्तनले नेपालको राष्ट्रिय एकता, अखण्डता र पहिचानलाई मेटाउने खतरा देखेको छु । तर, सबैमा त्यस्तो चिन्तन भने होइन । अहिले त त्यहाँ राजनीति गर्नेहरु पनि पुग्न लागे । भिजन भएको मान्छे पनि पुग्न थाले । हिजोको भन्दा अहिले अमेरिकामा बस्ने नेपाली फर्केर स्वदेशमा केही गरुँ भन्ने खालका छन् । यो सकारात्मक पक्ष हो । उनीहरु बिदेशमा बसेर पनि नेपालको पर्यटनको प्रचार गरिरहेका छन् । पर्यटनदूतको रुपमा काम गरिरहेका छन् । सांस्कृतिकदूतका रुपमा काम गरिरहेका छन् । यसको अतिरिक्त पर्यटन प्रवद्र्धनको लागि एनआरएनलाई पनि सहभागी गराएर अघि बढ्छौं । एनआरएनले पनि बजेट छुट्याएको छ । विश्वका ७५ वटा मुलुकमा एनआरएन छ । त्यो गाउँमा त्यही भएका एनआरएनमार्फत र संस्थागत रुपमा पर्यटन प्रवद्र्धनका लागि हामीले परिचालित गर्नुपर्छ ।
नेपालीहरु पनि एनआरएनका सदस्य भएका छन् । विद्यार्थी पनि भएका छन् । अरु पनि भएका छन् । त्यसमार्फत पर्यटन प्रवद्र्धन गर्नुपर्छ । त्यहाँ पुँजी कमाएका मान्छेहरुलाई नेपाल फर्काउने गर्नुपर्दछ । जो नेपालीले त्यहाँ नागरिकता लिएर बसेका छन्, रिटायर्ड पेन्सन पाउँछन् । रिटायर्ड पेन्सन पाउने मान्छेले स्वदेशमै एउटा आवास निर्माण गरेर पनि यहीँ खर्च गर्दा अमेरिकन पैसा यता तान्न सक्छौं । कति नेपालीले आमाबा लिएर गएका छन् । कतिपयले नागरिकता नै प्राप्त गरेका छन् । तिनलाई मुलुक फर्काउँ । त्यहाँ पाएको पेन्सन नेपालमा फर्कियो भने ठूलो अमेरिकन पैसा नेपाल आउने सम्भावना रहन्छ । त्यसको प्रयोग गर्नुपर्छ । त्यो दिशामा सोचेर कम्तीमा आफ्नो परिवारलाई नेपाल फर्काएर यहाँ खर्च गराउने परिस्थिति बनाउनुपर्छ । रेमिट्यान्सको अतिरिक्त त्यो पैसा यो ठाउँमा आए विकासले गति लिन्छ । त्यहाँ गाडीको लोन, घरको लोन, एजुकेशन लोन, हरेक खालको लोन दिने प्रचलन छ । अनि मान्छेको तलब त्यही लोनको किस्ता तिर्नमै सकिन्छ । कतिलाई त फर्केर काठमाडौं आउने खर्च पनि हुँदैन् । तीस वर्षपछि घर निख्न्नेला, २० वर्षपछि गाडी । त्यसपछि उसको रगत पसिना सकिसकेको हुन्छ ।
अमेरिकन लाइफ, त्यसपछि रिडायर्ड लाइफ हो । त्यो खालको स्थिति छ । त्यसलाई हामीले आनन्द मानेका छौं । किन आनन्द मान्नुप¥यो ? त्यहाँ त्यो सोच्ने फुर्सदै हुँदैन् । त्यो दिमागबाट नेपालीहरु मुक्त हुनुपर्छ । स्वतन्त्र ढंगबाट नेपाल फर्केर सोच्नुपर्छ । नेपालमा लगानी गर्ने हो भने त्यहाँको लगानीले यहाँ ठूलो हाइड्रोपावर बनाउन सकिन्छ । त्यसकारण अब प्रवासमा बस्ने मान्छेले सबै मान्छेको पूँजीलाई एकीकृत गरेर यहाँ लिएर आउनुपर्छ । त्यसले समृद्ध आर्थिक अर्थतन्त्र निर्माण गर्न सहयोग पु¥याउँछ ।
चीनमा च्याङगाई सेनको पालामा लडाइँको बेला प्रवासमा गएका चिनियाँहरु अहिले जम्मै टिममा फर्केर लगानी गरेका छन् । चीनलाई समृद्ध बनाउन तिनको ठूलो हात छ । अहिलेको त्यहाँको तीव्र विकास प्रवासी चिनियाँकै लगानीको प्रतिफल हो । उनीहरुको मुटुमा देशप्रतिको माया देखिन्छ । नेपाली पनि यसरी लगानी गर्न आउनुप¥यो ।
(दैनिक नेपालका कमलराज भट्टसँगको कुराकानीमा आधारित)















प्रतिक्रिया