मुम्बई । सामाजिक सञ्जालमा हंगामा मच्चाउने चर्चित पाकिस्तानी मोडल तथा नायिका कन्दिल बलोचको हत्या भएको छ ।
प्रहरीका अनुसार २६ वर्षीय कन्दिलको हत्या उनकै भाईले गरेका हुन् । पाकिस्तानको मुल्तानस्थित घरमै घाटी थिचेर उनको हत्या गरिएको थियो । कन्दिल फेसबुकमा बोल्ड भिडियो, स्टेटमेन्ट र फोटो पोस्ट गर्नमा निकै लोकप्रिय र विवादित थिइन् ।
मुल्तानका क्षेत्रीय प्रहरी प्रमुख आजम सुलतानले शनिबार कन्दिलको हत्या उनकै भाईले गरेको जानकारी दिए । उनका अनुसार आफ्नी दिदीको बोल्ड फोटो र भिडियादेखि घृणा लागेर हत्या गरेको बताइएको थियो । यसैकारण उनले केही दिनअघि आफ्नी दिदीलाई मार्ने धम्की पनि दिएको खुल्न आएको छ । हत्यापछि कन्दिलका भाई फरार छन् ।
कन्दिललाई पाकिस्तानमा ‘किम कार्दशियन पनि भनिन्थ्यो । हालै एक धर्मगुरु संगको सेल्फी सार्वजनिक भएपछि उनी थप चर्चामा आएकी थिइन।
मुस्लिम धर्मगुरु मुफ्ती अब्दुल कवीको साथ सेल्फी पश्चात पाकिस्तानमा ठूलो हंगामा भएको थियो।
उनी सामाजिक सञ्जालमा खुलेआम इमरान खान र भारतीय क्रिकेटर विराट कोहाली प्रति आफ्नो प्रेम दर्शाउने गर्थिन ।
यहि वर्ष मार्चमा उनले क्रिकेट वर्ल्ड टी-२० प्रतियोगिता भन्दा पहिले पाकिस्तानले भारतलाई हराएमा स्ट्रिप डान्स (कपडा फुकालेर) गर्ने बताएकी थिइन । तर पाकिस्तान हारेपछि उनको कुरा घोषणामै सीमित भएको थियो ।
कन्दिल पाकिस्तानको पहिलो समाजिक सञ्जाल सेलिब्रेटी पनि थिइन् ।

















प्रतिक्रिया