काठमाडौं, ३१ असार । अल्पमतमा परेको वर्तमान केपी ओली नेतृत्वको सरकारमा रहेन वा नरहने भन्ने विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
काठमाडौंमा बस्ने बैठकमा सरकारलाई दिएको समर्थन यथावत राखेर जाने कि आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर माओवादी केन्द्र र कांग्रेसको समीकरणमा सहभागी हुने भन्ने विषयमा छलफल हुने स्रोतको भनाइ छ । राप्रपाका तर्फबाट सरकारमा दुई मन्त्रीले जिम्मेवारी लिइरहेका छन् ।
स्रोतका अनुसार कार्यसम्पादन समितिको बैठकले आफ्ना दुई मन्त्री दीपक बोहरा र जयन्त चन्दलाई फिर्ता बोलाउने बारेमा गम्भीर छलफल हुनेछ । राप्रपामा बहुमत सदस्यले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ समीकरणमा लाग्नुपर्ने दबाब दिँदै आएका छन् ।
साउन ११ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डाका साथै राप्रपा नेपालसँगको पार्टी एकीकरणका विषयमा पनि छलफल हुने राप्रपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।
बैठकमा अहिलेका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले वरिष्ठ नेता पशुपति शम्शेर राणलाई हस्तान्तर कहिले गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ ।
पूर्व सहमति र निर्णयअनुसार असार १२ गतेदेखि राणाले अध्यक्षको जिम्मेवारी पाउनुपर्ने हो । तर चन्दले अध्यक्ष पद राणालाई हस्तान्तरण गर्नुभएको छैन ।












प्रतिक्रिया