काठमाडौं । अमेरिकाको भर्जिनिया अदालतले नेपाली मूलका नरेश भट्टलाई पत्नी ममता काफ्लेको हत्यामा दोषी ठहर गरेपछि अब उनीहरूको तीन वर्षीया छोरीको भविष्यबारे चासो बढेको छ। आमाको हत्या र बाबु जेलमा पुग्ने अवस्थाबीच बालिकाको पालनपोषण, कानुनी अभिभावकत्व र भविष्यको बसोबास मुख्य प्रश्न बनेको हो ।
अमेरिकी सञ्चारमाध्यमका पछिल्ला रिपोर्टअनुसार बालिकाको हेरचाह अहिले ममताकी आमा गीता काफ्ले र उनका दाजु महेश काफ्लेले गरिरहेका छन्। उनीहरू सन् २०२४ मा नेपालबाट अमेरिका पुगेका थिए। ममता बेपत्ता भएपछि सुरुमा बालिकालाई स्थानीय सामाजिक सेवा निकाय र पारिवारिक साथीको अस्थायी संरक्षणमा राखिएको थियो। पछि ममताका आमा र दाजु अमेरिका पुगेपछि उनीहरूले बालिकाको रेखदेख गर्दै आएका छन्।
अहिले बालिका तीन वर्षकी भएकी छन्। ममताको परिवारले उनलाई आमाको मायाबाट वञ्चित हुन नदिने प्रयास गरिरहेको छ। तर, अदालतबाट स्थायी अभिभावकत्व कसलाई दिने भन्ने अदालतले तोकिसकेको छैन ।
के नरेशले छोरीको अभिभावकत्व माग्न सक्छन् ?
नरेश दोषी ठहरिँदैमा उनको अभिभावकीय अधिकार स्वतः रद्द भएको भने छैन । भर्जिनियाको कानुनअनुसार बच्चाको अभिभावकत्व र भेटघाटसम्बन्धी निर्णय गर्दा अदालतले सबैभन्दा पहिले बालबालिकाको हितलाई प्राथमिकता दिन्छ। सामान्य अवस्थामा बाबु वा आमामध्ये कुनै एकलाई स्वतः प्राथमिकता दिइँदैन। तर, बच्चाको अर्को अभिभावक अर्थात् आमाको हत्या गरेको कसुरमा दोषी ठहर भएको अवस्थामा कानुनले विशेष व्यवस्था गरेको छ।
भर्जिनिया कोडको धारा २०–१२४.२ (E) अनुसार बच्चाको कानुनी अभिभावक वा संरक्षणको जिम्मेवारी पाएको व्यक्तिले अदालतमा निवेदन दिएर आमाको हत्या गर्ने बाबुलाई निश्चित अवधिसम्म छोरीको अभिभावकत्व वा भेटघाटसम्बन्धी निवेदन दिनबाट रोक्न माग गर्न सक्छ। यस्तो रोक अधिकतम १० वर्षसम्म हुन सक्छ। तर, यसका लागि अदालतले त्यस्तो निर्णय बालिकाको सर्वोत्तम हितमा रहेको ठहर गर्नुपर्छ।
त्यस्तै, अदालतले पर्याप्त प्रमाणका आधारमा हजुरआमा, हजुरबुबा वा अन्य नजिकका आफन्तलाई पनि बालिकाको अभिभावकत्व वा भेटघाटको अधिकार दिन सक्छ।
के नरेशले जेलबाटै छोरी भेट्न पाउँछन् ?
नरेशले छोरीलाई भेट्न पाउने वा नपाउने विषय पनि स्वतः निर्धारण भइसकेको छैन। अमेरिकी कानुनमा जेलमा रहेका अभिभावकले समेत भेटघाट वा अभिभावकत्वका लागि अदालतमा निवेदन दिन सक्ने व्यवस्था छ। तर, यस मुद्दामा आमाको हत्यामा दोषी ठहर भएकाले बालिकाको सुरक्षा, मानसिक अवस्था र हितलाई ध्यानमा राखेर अदालतले भेटघाटमा रोक लगाउन वा निगरानीमा मात्र भेट्न दिने व्यवस्था गर्न सक्छ।
अदालतले भेटघाटसम्बन्धी छुट्टै आदेश नदिएसम्म नरेशले जेलबाटै छोरीलाई भेट्न पाउने निश्चित छैन।
छोरीलाई नेपाल ल्याउन मिल्छ कि अमेरिकामै राखिन्छ ?
ममताको परिवारले छोरीलाई नेपाल ल्याउने कि अमेरिकामै राख्ने भन्ने विषयमा पनि अहिलेसम्म अन्तिम निर्णय सार्वजनिक गरेको छैन। ममता बेपत्ता हुँदा उनका आमाबुवाले नेपालबाट अमेरिका जाने तयारी गरेका बेला छोरीलाई सम्भव भए नेपाल ल्याउने र सम्भव नभए अमेरिकामै बसेर हेरचाह गर्ने बताएका थिए। सन् २०२४ अगस्टमा ममताकी आमा गीता र दाजु महेश अस्थायी आपत्कालीन भिसामा अमेरिका पुगेका थिए। उनीहरू त्यहाँ पुगेपछि नातिनीको रेखदेखमा सहयोग गरेका थिए। अहिले पनि उनीहरू अमेरिकामै रहेर बालिकाको हेरचाह गरिरहेका छन् ।
बालिकालाई नेपाल ल्याउनका लागि उनको कानुनी अभिभावकत्व, यात्रा अनुमति, राहदानी तथा अमेरिकी अध्यागमनसम्बन्धी प्रक्रिया मिलाउनुपर्ने हुन्छ। विशेषगरी अदालतले कसलाई कानुनी संरक्षणको अधिकार दिन्छ भन्ने कुराले बालिकाको अन्तर्राष्ट्रिय यात्रामा प्रभाव पार्न सक्छ। त्यसैले ममताकी आमाले चाहँदैमा तत्काल बालिकालाई नेपाल ल्याउन सक्ने अवस्था भने हुँदैन् ।
ममताकी आमालाई अमेरिकामै बस्न भिसा मिल्छ ?
ममताकी आमा र दाजु सुरुमा आपत्कालीन तथा अस्थायी प्रकृतिको भिसामा अमेरिका पुगेका थिए। अमेरिकी अध्यागमन नियमअनुसार अस्थायी भिसामा रहेका व्यक्तिले निश्चित सर्त पूरा गरी बसाइ अवधि थप्न वा आफ्नो अध्यागमन हैसियत परिवर्तन गर्न निवेदन दिन सक्छन्। तर, यस्तो सुविधा स्वतः प्राप्त हुँदैन। निवेदकको भिसा प्रकार, बसाइको उद्देश्य, आर्थिक अवस्था र अन्य कानुनी मापदण्डका आधारमा निर्णय हुन्छ।
के नरेशले फैसलाविरुद्ध अपिल गर्न सक्छन् ?
नरेशसँग अदालतको फैसलाविरुद्ध अपिल गर्ने कानुनी अधिकार छ। भर्जिनियाको कानुनअनुसार दोषी ठहर भएको व्यक्तिले राज्यको कोर्ट अफ अपिलमा फैसलाको पुनरावलोकन माग्न सक्छ। अपिलका क्रममा प्रतिवादी पक्षले सुनुवाइमा कानुनी त्रुटि भएको, प्रमाणको मूल्याङ्कनमा गम्भीर गल्ती भएको वा कानुनी प्रक्रियामा समस्या रहेको आधार प्रस्तुत गर्नुपर्ने हुन्छ।
मुद्दामा संलग्न नरहेका एक वकिलका अनुसार नरेशले अपिल गरेको खण्डमा पनि अपिल सफल हुने सम्भावना निकै कमजोर रहेको छ । उनका अनुसार नरेशले अदालतमा आफैँ साक्षीका रूपमा उभिएर पत्नीको शव टुक्राटुक्रा पारेको र लुकाएको स्वीकार गरेका छन् । नरेशलाई आगामी १२ मार्च २०२७ मा सजाय सुनाउने मिति तोकिएको छ। उनीमाथि प्रथम श्रेणीको हत्यामा २० वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ। शव लुकाएको र शवको अपमान गरेको कसुरमा थप सजायसमेत हुन सक्छ।
अमेरिकी र नेपाली समुदायले के भने ?
फैसलापछि ममताको परिवारका सदस्यहरू अदालत परिसरमै भावुक बनेका थिए। अमेरिकी सञ्चारमाध्यमका अनुसार परिवारका सदस्यहरूले एकअर्कालाई अँगालो हालेर राहत र दुःख मिश्रित प्रतिक्रिया दिएका थिए। सरकारी वकिल एमी एशवर्थले फैसलाले ममताको परिवारले दुई वर्षभन्दा बढी समयदेखि भोगिरहेको पीडाबीच न्यायको अनुभूति गराउन सक्ने बताइन् । ममताकी नजिककी साथी तथा पूर्वसहकर्मी होली विर्थले बालिकालाई परिवार र साथीहरूले विशेष संरक्षणमा राखेको बताएकी छिन् । उनले बालिकालाई ‘मिनी ममता’ भनेर सम्बोधन गर्दै अहिले उनको जीवनमा माया, सुरक्षा र खुसी कायम राख्नु सबैभन्दा महत्त्वपूर्ण रहेको बताइन् । बालिका नाच्न मन पराउने र आमाजस्तै हँसिली रहेको उनको भनाइ छ।
फैसलापछि स्थानीय नेपाली समुदायका सदस्यहरू पनि अदालतबाहिर भेला भएका थिए। नेपाली समुदायले लामो समयदेखि चासोका साथ हेरिरहेको यो घटनामा दोषी ठहर भएपछि ममताले न्याय पाएको प्रतिक्रिया दिएका थिए ।












प्रतिक्रिया