काठमाडौं, ३१ असार । मधेसी मोर्चासहितका दलहरू आवद्ध संघीय गठबन्धनको एक महिने रिले अनशन आज सक्किदैछ । अन्तिम दिनको रिले अनशनलाई भव्य बनाउने केही दलका शीर्ष नेताहरू आफै अनशनमा बसेका छन् ।
अनशनको नेतृत्व संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् गठबन्धनका संयोजक उपेन्द्र यादवले नेतृत्व गर्नुभएको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिनुभयो । अनशनमा राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी पनि बस्नु भएको छ ।
अनशनमा सद्भावनाका रामेश्वर यादव, तमलोपाका डा.सुरेन्द्र झा, गणतान्त्रिक फोरमबाट गजाधर यादव, नेपाल सद्भावना पार्टीबाट प्रेमप्रताम बराम, ओम गुरुङ, भानुराम थारु, कुमार राई, बुद्धराज स्याङतानसहित दुई दर्जन बढी नेताहरू रहेका छन् ।
अन्तिम दिनको रिले अनशन भएकाले खुलामञ्चमा दिनभरि विशेष कार्यक्रमहरू गरिने रामसपाका प्रवक्ता झाले जानकारी दिनुभयो । दिउँसो १ बजेदेखि ४ बजेसम्म विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछन् । चार बजेदेखि ७ बजेसम्म शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएको छ ।
आजको रिले अनशन सक्किएपछि गठबन्धनको साउन २ गते बस्ने बैठकले आन्दोलनको थप कार्यक्रम अगाडि सार्नेछ । त्यसका लागि गठबन्धनले आन्तरिक तयारी गरिरहेको प्रवक्ता झाले बताउनुभयो ।
संविधान पुनर्लेखनको माग गरेर जेठ २५ गतेदेखि रिले अनशन सुरु गरेको गठबन्धनले वार्तालाई प्राथमिकतामा राख्दै आएको छ ।












प्रतिक्रिया