काठमाडौं, ३१ असार । प्रमुख सत्तासाझेदार नेकपा माओवादी केन्द्रले साथ छाडेपछि अल्पमतमा परेको केपी ओली नेतृत्वको सरकारविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता भइसक्दा मन्त्रीहरू भने बाँकी अवधि तामझामपूर्ण बनाउन जुटेका छन् ।
माओवादी केन्द्र हटेसँगै रिक्त मन्त्रालयको समेत जिम्मेवारी थपिएका उनीहरू समारोह नै गरी मन्त्रालय प्रवेश गर्दै छन् । नागरिक दैनिकले समाचार छापेको छ ।
श्रम तथा रोजगारमन्त्री दीपक बोहोरा बिहीबार दिउँसो आपूर्ति मन्त्रालय सम्हाल्न पुगे ।
उनको स्वागतमा मन्त्रालयअघि भर्याङको गेटमा फूलसहित दुई घडा सजाएर राखिएका थिए ।
बोहोरालाई नयाँ मन्त्रीलाई जत्तिकै स्वागत–सत्कार गर्न कर्मचारी तम्तयार थिए। उनी दिउँसो २ बजे मन्त्रालय पुगे ।
मन्त्रालयका कर्मचारीले बोहोरालाई फूलमाला, खादा पहिर्याए । माहोल हेर्दा लाग्थ्यो– उनी नयाँ जिम्मेवारी थपिएका पुरानै मन्त्री नभएर नवगठित मन्त्रिमण्डल सदस्य हुन् ।
उनी कार्यालयमा आधा घन्टाजति बसेर कर्मचारीलाई निर्देशन दिन पनि भ्याए । मन्त्रालय पुग्नुअघि उनका नाममा ुनेमप्लेटु तयार भइसकेको थियो । मन्त्रीका नाम उल्लेख हुने सबै स्थानका पुराना विवरण सच्याइसकिएको थियो ।
मन्त्री बोहोरालाई निमित्त सचिव आनन्दराम रेग्मीले गेटबाटै स्वागत गरेर कार्यकक्ष लगे । अनि मन्त्रालयको गतिविधि ब्रिफिङ गरे ।
नौ महिनाअघि वाणिज्यबाट फुटेको आपूर्ति मन्त्रालयले दसैंमा चिनीको भाउ नबढ्ने, रोपाइँमा मल अभाव नहुनेमा आश्वस्त पारी कर्णालीमा चामल पुर्याउन नसक्नुको विवशताबारे पनि मन्त्रीलाई जानकारी गराइएको निमित्त सचिव रेग्मीले बताए ।
उनले भने, ‘मन्त्रीज्यूलाई महत्वपूर्ण फाइल सदर गराउन पाइयो ।’ आगामी भदौ १६ र १७ मा नेपालमा ुसार्कस्तरीय फुड बैंक बोर्ड बैठक बस्ने निर्णय सदर गराइएको रेग्मीले जानकारी दि ए।
परराष्ट्र, कृषि मन्त्रालयबाट सोमबारै काम सकिएर आएको फाइल निवर्तमान मन्त्री गणेशमान पुनसमक्ष पुग्न पाइसकेको थिएन ।
पार्टीले सरकार छाडेसँगै उनी बुधबार मन्त्रालयबाट बिदा भई सहसचिवको गाडीमा घर पुगेका थिए ।
मन्त्री बोहोराले कठिन परिस्थितिमा मन्त्रालय सम्हाल्न आइपुगेको बताउँदै कर्मचारीलाई आवश्यक निर्देशन दिए । उनले भने, ‘जनताको चुलोसँग सम्बन्धित यो मन्त्रालयमा के समस्या छ ? तपाईंहरूसँग सहजीकरण गर्न आएको छु ।’
मन्त्रालयका प्रवक्ता समेत रहेका रेग्मीले जोसुकै मन्त्री आए पनि आफूहरूले स्वागत गर्नुपर्ने बताए । उनले भने, ‘राजनीति र प्रशासनबीच तटस्थता हुनुपर्छ । नियम कानुनअनुसार प्रशासन, सुशासनको प्रत्याभूति हुनुपर्छ ।’















प्रतिक्रिया