काठमाडौं, ३१ असार । सत्तासाझेदार माओवादी केन्द्रले सरकार छाडेर कांग्रेससँग नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री केपी ओली कांग्रेसलाई फकाउने प्रयासमा लागेका छन् ।
उनले सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बन्न छुट्टाछुट्टै प्रस्ताव गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
माओवादी नेतृत्वको सरकारमा सहभागी हुनुको सट्टा आफ्नै नेतृत्वमा साना दलको समर्थनमा सरकार बनाउन ओलीले कांग्रेस नेताहरूलाई प्रस्ताव गरेका छन् ।
त्यस्तो अवस्थामा आफ्नो पार्टी एमालेले पनि सहयोग गर्ने उनको प्रस्ताव छ । देउवानिकट स्रोतहरूका अनुसार प्रधानमन्त्री ओलीले एमालेका दोस्रो तहका नेताहरूमार्फत देउवालाई आफैँ प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए ।
‘साना पार्टीलाई समेटेर सरकार बनाए हुन्छ, यसका लागि सहयोग गर्न तयार छौँ भन्ने प्रस्ताव आएको हो, हामीलाई टेस्ट गरेको पनि हुनसक्छ,’ देउवा निकट एक कांग्रेस नेताले भने । देउवा आफैले पनि बुधबार ‘एमालेको प्रस्ताव ढिलो भइसकेको’ प्रतिक्रिया पत्रकारलाई दिएका थिए ।
देउवाले आफ्नो प्रस्तावको खासै ‘रेस्पोन्स’ नगरेपछि ओलीले बुधबार राति ९ बजेतिर नेता पौडेललाई फोन गरेर प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए ।
आफ्नो पक्षमा दुई सय ४० भोट रहेको दाबी उनले पौडेललाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए ।
‘बुधाबार राति ९ बजेतिर प्रधानमन्त्री केपी ओलीले फोन गरेर हामीसँग दुई सय ४० भोट छ, तपाईं प्रधानमन्त्री बन्नुस्, कांग्रेसकै नेतृत्वमा सरकार गठन गरौँ भनेर प्रस्ताव गर्नुभयो,’ अधिकारीले नयाँ पत्रिकासित भने, ‘तर, उहाँ (पौडेल) ले पार्टीले माओवादीसँग सरकार बनाउने निर्णय गरिसकेको छ । अब पार्टी–निर्णयबाहिर जान सक्दैनौँ । सद्भाव देखाउनुभयो धन्यवाद छ भन्नुभयो ।’
ओली र पौडेलबीच पाँच मिनेट कुराकानी भएको उनले जानकारी दिए । कुराकानीका क्रममा पौडेलले सत्ताका लागि भन्दा पनि संविधान कार्यान्वयनमा लाग्नुपर्ने भन्दै यसका लागि मिलेर अघि बढ्नुपर्ने बताएका थिए ।















प्रतिक्रिया