गौशाला, १ भदौ । महोत्तरीको रातो खोलामा आएको बाढीले जलमग्न बनाएको सदरमुकाम जलेश्वरको अधिकांश भागमा अझै पानी घटेको छैन ।
जिल्लाको दक्षिण भागमा भारतीय सिमानासँग जोडिएको सदरमुकाम जलेश्वर नगरपालिकामा आज बिहान प्रवेश गरेको बाढीले वडा नं १, २ महादेव मन्दिर वरपर, ५ सारीभारी, ६ सानो धबौली, ७ बजराही, ८ रतबारा, ९ रमौल, १० सारी, ११ खैरा, १२ मलिवारा, १३ ठूलो धबौलीका अधिकांश भाग डुबानमा पारेको छ ।
बाढी केही व्यक्तिको घरभित्र प्रवेश गरेको छ । पानी पसेर धेरैको गोठ, दाउरा राख्ने घर र सयौँ बिघामा लगाएको धानबाली नष्ट भएको छ । सदरमुकाम जलेश्वरकोे दुर्गाचोक, शङ्करचोक, अस्पतालचोक, बुद्धिजीवीचोक, खैराचोकबाहेक सबैतिर बाढीको पानी पसेर लाखौँको क्षति पु¥याएको स्थानीय बासिन्दाले बताएका छन् ।
दुई दिनअघि जिल्लाको माथिल्लो भाग पशुपतिनगर, किसाननगर, बिजलपुरा, लोहारपट्टिलगायतका गाउँठाउँ डुबानमा पारेको रातो खोलाले आज जिल्लाको सदरमुकाम जलेश्वर डुबानमा पारेको छ । यसका साथै रातो खोलाले जिल्लाको डाम्हीमडै, महोत्तरी, फुल्हट्टा परिकौली, पिगौना, पिपरा गाविसका पनि धेरैजसो भाग डुबानमा पारेको स्थानीय जनताले बताएका छन् ।
यता जिल्ला सदरमुकाम डुबानमा परेको र अझै पनि बाढीको जलस्तर बढ्दै गएको देखेर सदरमुकामको चारैतिर नेपाली सेना तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीले निगरानी बढाएको छ ।
















प्रतिक्रिया