काठमाडौं, ३० असार । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारले दैनिक काम काजका सामान्य काम बाहेक कुनै पन राष्ट्रिय महत्व राख्ने र दीर्घकालीन प्रभाव पर्ने निर्णयहरू नगर्न आग्रह गरेका छन् ।
माओवादी केन्द्र र कांग्रेसले बिहीबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर वर्तमान सरकार काम चलाउ भएकाले कामचलाउको हैसियतमा कार्य सञ्चालन गर्न भनेका हुन् । एमालेसँगको बढ्दो दूरीसँगै सरकारका कामकारबाहीप्रति कांग्रेस र माओवादी केन्द्रले निगरानी थालेका हुन् ।
‘वर्तमान सरकारबाट सत्ता साझेदार दोस्रो ठूलो नेकपा (माओवादी केन्द्र)ले आफ्नो समर्थन फिर्ता लिइसकेपछि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार स्वतः अल्पमतमा परेको स्पष्ट छ’, विज्ञप्तिमा भनिएको छ, ‘संविधान तथा प्रचलित कानुन बमोजिम प्रधानमनत्री केपी ओलीको सरकारप्रति विश्वास छैन भनी व्यवस्थापिका संसदभित्र रहेका कांग्रेस, माओवादी केनद्रलगायत तेह्र वटा राजनीतिक दलहरूले संसद सचिवालयमा असार २९ गते अविश्वासको प्रस्ताव दर्ता समेत गरी सकेको अवस्थामा वर्तमान सरकार केवल काम चलाउ सरकारको हैसियतमा मात्र रहेको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसर्थ, वर्तमान सरकारले दैनिक कामकाजका सामान्य काम बाहेक कुनै पनि राष्ट्रिय महत्व राख्ने र दीर्घकालीन प्रभाव पार्ने निर्णयहरू नगर्न कांग्रेस र माओवादी केन्द्रले वर्तमान सरकारको ध्यानाकर्षण गराउँदछ ।’













प्रतिक्रिया