जाजरकोट, १ भदौ । जुम्लाको सिमानासँग जोडिएको जाजरकोटको रोकायगाउँ गाविसको पारा र स्याला मूलसाममा बुधबारदेखि शुक्रबारसम्म परेको भारी वर्षाले व्यापक क्षति गरेको छ ।
वर्षासँगै आएको बाढीपहिरोले विद्युत् सेवा बन्द हुनुका साथै दुई गाउँको मकैबाली नष्ट भएको छ । वर्षाले बाढीपहिरो जानुका साथै आँधीहुरी चलेपछि यस्तो भएको हो ।
रोकायगाउँ गाविसकै आयोजनाका रुपमा रहेको गाग्राखोला लघुजलविद्युत् आयोजनाको कुलो पहिरोले पुरेपछि शुक्रबारदेखि विद्युत् सेवा बन्द भएको छ । वर्षासँगै चलेको आँधीहुरीले पूरै मकैबाली नष्ट भएको छ ।
तीन दिनसम्म परेको अविरल वर्षासँगै आएको आँधीहुरीले रोकायगाउँको पाटनसँग जोडिएका पारा र स्याला मूलसामका किसानले छ महिनासम्म खाने मकैबाली नै नष्ट पारिदिएपछि उनीहरुलाई निकै ठूलो मर्का परेको स्थानीय भूमिलाल रोकायले बताउनुभयो ।
मूलसाममा मकै, सिमी, गहुँमात्र उत्पादन हुने गर्दछ । धान नफल्ने भएका कारण चामल किन्न तीन दिन हिँडेर सदरमुकाम आउने गरेको रोकायले बताउनुभयो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, जिविस र गाविस अनुदानमा रु दुई करोड ५० लाख र जनश्रमदान रु एक करोड गरी रु तीन करोड ५० लाखको लागतमा निर्माण गरिएको ८० किलोवाटको गाग्राखोला लघुजलविद्युत् आयोजनाको कुलो नै पहिरोले पुरिदिएपछि १७० घरधुरी विद्युत् सेवाबाट वञ्चित भएका छन् ।
आँधीहुरीसहित आएको वर्षाले खोला वारपार गर्न हालिएका २३ काठे पुल बगाएपछि पैदलयात्रुलाई समस्या भएको छ ।
















प्रतिक्रिया