काठमाडौं, २९ असार । बुधबार दिउँसो बोलाइएको व्यवस्थापिका संसदको बैठक बस्दै नबसी स्थगित भएको छ ।
सरकारबाट समर्थन फिर्ता लिँदै नेपाली कांग्रेसँग मिलेर नयाँ सरकार निर्माणको कसरतमा लागेको नेकपा माओवादी केन्द्र र कांग्रेसका कारण बैठक स्थगित भएको हो ।
केपी ओली नेतृत्वको सरकारले पेश गरेको बजेटका पक्षमा मतदान गर्ने कि नगर्ने भन्ने विषयमा काँग्रेस र माओवादी धर्मसंकटमा परेपछि बैठक स्थगित भएको बताइएको छ ।
सरकारले आजै संसदबाट बजेट अनुमोदन गर्ने कार्यसूची तय गरेको थियो तर, नयाँ गठबन्धनको तयारीमा रहेका कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेको अवस्थामा बजेट पास गरे के हुन्छ र नगरे के हुन्छ भन्ने विषयमा कुरा बाझिएपछि भोलिसम्मका लागि बैठक स्थगित भएको काँग्रेस सांसद रामहरि खतिवडाले जानकारी दिए ।
उनका अनुसार यदि बहुमतले अहिले बजेट पास भए प्रधानमन्त्री ओलीको पक्षमा बहुमत रहेको भन्ने अर्थ लाग्ने र बजेट पास नगर्दा खराब संसदीय राजनीति गरेको आरोप लाग्ने तर्कहरू आएका कारण दलहरु धर्मसंकटमा परेका छन् । यसविषयमा संविधानविद्धहरुसँग सल्लाह गरेर निर्णय लिने सहमति भएको उनले बताए ।













प्रतिक्रिया