– सलिम अन्सारी
प्यूठान, २७ असार । ब्यबसायिक कृषि उधममा लागेका जिल्लाका तीन जना यूवा उद्यमीहरु सम्मानित भएका छन् ।
‘यूवा प्रतिभा तथा यूवा उद्यमी प्रोत्साहन पुरस्कार’बाट यसवर्ष बांगेशाल–७ ददेरीकी विमा कुमारी कुमाल, बांगेमरोठ–२ सुमन्तेकाना प्यूठानका ज्ञान बहादुर जिसी र पदम बहादुर जिसी सम्मानित भएका हुन् । यूवा तथा खेलकुद मन्त्रालयले उनीहरुलाई सम्मान गरेको हो ।
आईतवार राजधानीमा एक कार्यक्रमका विच उनीहरुलाई नगद ५० हजार रुपैयाँ र सम्मानपत्रले सम्मानित गरिएको यूवा तथा खेलकुद मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी महेन्द्र प्रसाद पौड्यालले जानकारी दिए । ‘व्यवसायिक कृषि र उद्यमशिलताको क्षेत्रमा उत्प्रेरित गर्ने यूवाहरुलाई हरेकवर्ष सम्मान गर्दै आएका छौँ’,उनले भने,‘आर्थिक अभियान दैनिकमा प्रकाशित समाचारका आधारमा प्यूठानका तीन जना उद्यमीहरुलाई छनौट गरेका हौँ । विभिन्न संचार माध्यममा प्रकाशित÷प्रशारित समाचारलाई आधार मानेर पनि उद्यमीहरुलाई सम्मानितका लागि छनौट गर्दै आएको उनले बताए ।

अघिल्लो आर्थिक वर्षको भदौ १ गते बांगेमरोठका दुई यूवाहरुको ‘विदेशबाट फर्केर माहुरीघार संचालन’ शिर्षकमा र चालु आ.व.को जेठ १० गते ‘केरा बेचेर लाखाँै कमाउँदै दम्पत्ती’ शिर्षकको आर्थिक अभियान दैनिकमा समाचार प्रकाशित भएको थियो । विमाले जिल्लाकै धेरै क्षेत्रफल जग्गामा केराखेती गर्दै उदाहरणीय उद्यमी बनेकी छिन् ।
लामो समय वैदेशिक रोजगारपछि घर फर्केका बांगेमरोठका ज्ञान बहादुर र पदम बहादुर जिसीले बांगरोठ–३ अगाँरामा मौरी घार उद्योग संचालन गर्दै आएका छन् । पुरस्कृत भएपछि खुसी व्यक्त गर्दै ज्ञान बहादुरले भने,‘उद्योगलाई थप विस्तारसँगै बाख्रापालन पनि गर्ने सोँच बनाएको छुँ ।’
















प्रतिक्रिया