मुम्बई । नेपाली डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले मुम्बईमा गोल्डेन क्यामरा अवार्ड सम्मान पाएका छन् ।
भारतको मुम्बईमा शनिबार आयोजित विशेष समारोहमा पाण्डेलाई नासिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का तर्फबाट गोल्डेन क्यामरा अवार्ड प्रदान गरिएको हो । गत फागुनमा नासिक सहरमा सम्पन्न निफमा ‘भाग्यले बाँचेकाहरु’ले उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड जितेको थियो ।
पाण्डेले भारतमा पाएको सम्मानबाट आफू गौरवान्वित भएको बताए । साथै, निर्देशक पाण्डेले सिंघमसहित सयौं बलिउड फिल्ममा अभिनय गरेका गोविन्द नामदेव लगायतलाई अवार्डसमेत प्रदान गरेका थिए ।
निफका कार्यकारी निर्देशक मुकेश कनेरीले आगामी दिनमा नेपाली फिल्मलाई प्राथमिकता दिने बताए । समारोहमा भारतसहित बेलायत, इरानका फिल्मकर्मीलाई पनि सम्मान गरिएको थियो ।
भूकम्पमा परी चमत्कारिक रुपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको भाग्यले बाँचेकाहरुले बितेको सात महिनामा ६ वटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ । ३२ भन्दा बढी देशमा प्रदर्शनका लागि छनौट भएको छ। ‘आगामी महिना स्वीजरल्याण्ड र इट्लीमा हुने फिल्म महोत्सवमा भाग्यले बाँचेकाहरु प्रदर्शन हुँदैछ’, निर्देशक पाण्डेले भने ।















प्रतिक्रिया