१० कार्तिक २०८३, मंगलबार

ठक्कर दिएर भाग्दा तीन लाख जरिवाना, यसरी भयो अनुसन्धान

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

accident-660x330काठमाडौं, २७ असार । गत १८ असारको दिउँसो रत्नपार्कमा एउटा सामान्य दुर्घटना भयो । रणोदीप पुलमुनि दुईवटा मोटरसाइकल ठक्कर खाँदा बा ३०प ५५३२ नम्बरको मोटरसाइकलमा सवार रविन खड्का र उनकी श्रीमती लडे । अर्को मोटरसाइकल भाग्यो ।

दुर्घटनामा खड्कादम्पतीलाई सामान्य ठक्कर मात्र लागेको थियो । तर, ठक्कर दिएर भाग्ने मोटरसाइकलले त्यसबापत तीन लाख रुपैयाँ तिर्नुपर्‍यो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

दुर्घटनामा घाइते भएर उपचार खर्चका लागि होइन, भाग्नेक्रममा मोटरसाइकलबाट लडेकी महिलाको पर्स ठक्कर दिने मोटरसाइकलमा अल्झिएपछि यो घटना हुन पुग्यो ।

ती महिलाको पर्समा तीन लाख रुपैयाँ पर्ने गहना र मोबाइल थियो । त्यही सामानको मूल्य भाग्ने मोटरसाइकलले तिर्नुपरेको हो ।

यसरी भयो अनुसन्धान

ठक्कर दिने मोटरसाइकलमा नम्बर प्लेटसमेत थिएन । ‘अन टेस्ट’ लेखिएको मोटरसाइकललाई सिसिटिभीको सहयोगमा प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान गरी पक्राउ गरेको हो । ठक्कर दिने मोटरसाइकलमा दुईवटा साइलेन्सर थिए । सोही जानकारीका आधारमा प्रहरीले दुईवटा साइलेन्सर भएका मोटरसाइकलबारे अनुसन्धान थाल्यो ।

मोटरसाइकलको डिजाइन रोयल इन्फिल्डको जस्तो थियो । प्रहरीले रोयल इन्फिल्ड कम्पनीमा गएर बुझ्दा सो ब्रान्डको मोटरसाइकलमा दुईवटा साइलेन्सर नहुने खुल्यो ।

थप अनुसन्धान गर्दा हालै मात्र नेपालमा आएको एस ब्रिटिस ब्रान्डको मोटरसाइकलको दुईवटा साइलेन्सर हुने खुल्यो । प्रहरी विक्रेताको कार्यालय लाजिम्पाट पुग्यो ।

संयोगवश सोही दिन मोटरसाइकल बिक्री भएको थियो । यातायात व्यवस्था कार्यालयमा मोटरसाइकल दर्ता भइसकेको थियो, जसको नम्बर बा ७५प ७१८३ थियो ।

यातायात कार्यालयबाट विवरण लिई प्रहरीले मोटरसाइकल धनी मोहम्मद रमिजलाई पक्राउ गर्न सफल भयो । उनले आफ्नो मोटरसाइकलमा महिलाको पर्स अल्झिएको थाहा पाएका थिएनन् ।

भाग्ने क्रममा पर्स बाटैमा खस्यो । ‘नभागेको भए उनले केही तिर्नुपर्ने थिएन’, महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका प्रमुख इन्स्पेक्टर सुनीलजंग शाहले भने, ‘भागेकै कारण तीन लाख तिर्नुपरेको हो ।’ भागेपछि लफडामा नपर्ने सोचेर उनी भागेका थिए । तर, भागेकै कारण उनी लफडामा परे ।

सिसिटिभीले अनुसन्धानमा सहजता

राजधानीमा मुख्य चोकहरूमा राखिएका सिसिटिभीले दुर्घटना गरेर भाग्ने सवारी समाउन सहज भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी प्रकाश अर्यालले बताए । ‘दुर्घटना गरेर भाग्ने सवारी पक्राउ गर्न मात्र होइन, ट्राफिक नियम उल्लंघन नियन्त्रण गर्न पनि सिसिटिभीको महत्त्वपूर्ण सहयोग छ,’ डिआइजी अर्यालले भने, ‘धेरैपटक हामीले दुर्घटना गराएर भागेका सवारीसाधन सिसिटिभीको सहयोगमा पक्राउ गरेका छौ ।’

१ वैशाखमा त्यस्तै घटना

गत १ वैशाखमा लाजिम्पाटमा एक बटुवालाई ठक्कर दिई कार भागेको थियो । ठक्करबाट लाजिम्पाटका राजु खड्काको मृत्यु भयो । तर, मध्यराति भएकाले कार सजिलै भाग्यो । ठक्कर दिने कारको केही जानकारी प्रहरीले पाएन । तैपनि सिसिटिभी फुटेजका आधारमा कारको नम्बर पत्ता लगाई भोलिपल्टै कारचालक रोशन मगरलाई पक्राउ गर्न प्रहरी सफल भयो । बा।२च ३८१८ नम्बरको कार बूढानीलकण्ठबाट बरामद गरी चालक मगरलाई प्रहरीले भोलिपल्टै पक्राउ गरेको थियो ।

स्कुटर पनि पत्ता लाग्यो

त्यस्तै, गत ३ जेठमा एक महिलालाई ठक्कर दिई बा.५७प ९६४० नम्बरको स्कुटर भागेको थियो । प्रहरीले केही दिनपछि नै स्कुटर पत्ता लगाई चालक सुविन लामालाई पक्राउ गर्‍यो । ‘सडकमा गल्ती गरेर एकछिनलाई मात्र भाग्ने हो,’ डिआइजी अर्यालले थपे, ‘ट्राफिकको आँखा छले पनि सिसिटिभीको आँखा छल्न सकिँदैन ।’ चक्रपथभित्रका सबैजसो प्रमुख चोकमा सिसिटिभी जडान भइसकेका छन् । तर, सिसिटिभी पर्याप्त भने नभएको प्रहरीको भनाइ छ । कतिपय स्थानमा राखिएका क्यामेरा बिग्रिएका छन् भने क्यामेराको न्यून गुणस्तरका कारण पनि दुर्घटना पत्ता लगाउन कठिन हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।