
बेनी (म्याग्दी), ३१ साउन । म्याग्दीमा बनेको ढाका विदेशसम्म पनि निर्यात हुन थालेको छ ।
म्याग्दीको अर्थुङ्गे–२ मङ्गलाघाटकी लघुउद्यमी लीलादेवी पुनले ढाका बुनाइबाट मासिक २० हजारभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ । आफँैले सञ्चालन गरेको लगनशील तयारी कपडा उद्योगमा उत्पादन गरेका ढाकाको साडी, कुर्ता, चोली, रुमाललगायतका सामग्री बिक्री गरेर उहाँले आम्दानी गर्न थाल्नुभएको हो । आफूले उत्पादन गरेको ढाकाका सामग्री बेनी, बाग्लुङ, पोखरा, काठमाडाँैका साथै बेल्जियम, बेलायत, हङ्कङसम्म निर्यात हुने गरेको पुनले बताउनुभयो ।
लघुउद्यमी सङ्घ र सङ्गम म्याग्दीले २०६५ सालमा सञ्चालन गरेको एक महिने ढाका बुनाइ तालिममा सीप सिकेपछि उहाँले सो व्यवसाय सञ्चालन गर्नुभएको हो । तालिम लिएपछि घरमै तान किनेर ढाकाको रुमाल, गलबन्दी, हाप सल बुन्न सुरु गर्नुभएकी पुनले अहिले फुल सल, साडी र कुर्तासमेत बुन्न थाल्नुभएको छ ।
पुन अहिले नमुना ढाका बुनाइ समूहमा समेत आबद्ध हुनुहुन्छ । गत वर्ष घरेलु तथा साना उद्योग विकास समितिको रु १० हजार अनुदान सहयोगमा १६ हजारमा पाल्पाली तान (मेसिन) खरिद गरेपछि आफूलाई सहज भएको उहाँको भनाइ छ ।
ढाका बुनाइ सीपबाटै आत्मनिर्भर बनेकी पुन अहिले व्यवसायमा मात्रै सीमित नभइ प्रशिक्षकसमेत बन्नुभएको छ ।
जिल्लामा सफल लघुउद्यमीका रूपमा पहिचान बनाउनुभएकी पुन २०६६ सालमा बेनीमा भएको महोत्सवमा उत्कृष्ट उद्यमीका रूपमा समेत पुरस्कृत हुनुभएको थियो ।













प्रतिक्रिया