काठमाडौं, ३१ साउन। विवादास्पद व्यापारी अजय सुमार्गीको करिब तीन अर्ब रूपैयाँ नेपालका ठूला दुई वाणिज्य बैंक नबिल बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा फेला परेको छ ।
नेपाल राष्ट्र बैंकले यी विवादास्पद व्यापारीको करिब तीन अर्ब रूपैयाँ स्याट्लाइट कम्पनी जोदा इन्भेष्टमेन्ट नामक कम्पनीबाट विदेशका विभिन्न देशबाट आएको पत्ता पाएपछि ढिलै भए पनि सो रकम दुवै बैंकलाई पत्राचार गर्दै रोक्का गरेको थियो । राष्ट्र बैंक स्रोले भन्यो– ‘यति धेरै पैसा नेपालमा दर्ता नै नभएको कम्पनीको नाममा नबिल र इन्भेष्टमेन्ट बैंकबाट आएपछि हामीले बैंकलाई रकम रोक्का गर्न आग्रह गरेका छौं ।’
जोदा इन्भेष्टमेन्ट कम्पनीको नामबाट यी दुई बैंकमा विदेशको बैंकबाट पैसा आएपछि राष्ट्र बैंकले विदेशबाट आएको पैसाको स्रोत खोजेको थियो । प्रमाण पेश गर्न सुमार्गी असफल भएपछि हालसालै (गत असार २१ गते) सो पैसा राष्ट्र बैंकले रोक्का गरेको हो । नेपालमा विदेशी लगानी भित्र्याउने नाममा बैंकबाट कालो धनलाई सेतो बनाउने उद्देश्यले सुमार्गीले ३ अर्ब पैसा यी दुई बैंक उपयोग गरी नेपाल भित्र्याएको भेटिएको छ ।
सुमार्गीले उद्योग विभागबाट जोदा इन्भेष्टमेन्ट कम्पनी दर्ता नगरेको भेटिएपछि अनुसन्धानमा जुटेको राष्ट्र बैंकले सोको जानकारी अर्थमन्त्रालय र सरकारलाई दिएको छ ।
यति धेरै पैसा बैंकमार्फत् एउटा नेपाली लगानीको नाममा रातारात भित्र्याउँदा समेत बैंकका प्रमुख कार्यकारी अधिकृतद्वय अनिल ज्ञवाली (नबिल), ज्योतिप्रकाश पाण्डे (इन्भेष्टमेन्ट) ले गोप्य राखेपछि अब उनीहरूमाथि छानबिन हुने राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले बताए ।
विवादग्रस्त व्यापारी सुमार्गीले उक्त पैसाको फुकुवा गरिदिन आग्रह गर्दै अर्थमन्त्री डा. रामशरण महत र प्रधानमन्त्री सुशील कोइरालासँग गए पनि सो फुकुवा नभएपछि उनी अहिले बदनाम हुने डरले गुपचुप रहेको स्रोतको दाबी छ । सधैं सत्ता र शक्तिको पछाडि लाग्ने सुमार्गीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा दर्जनांै मुद्दा परेका छन् । सो छानबिन समेत भइरहेको अवस्थामा यसले थप प्रमाण हुने देखिन्छ ।
कहाँबाट आयो ३ अर्ब ?
राष्ट्र बैंक उच्च सूत्रका अनुसार अजय सुमार्गीको नाममा रहेको जोदा इन्भेष्टमेन्ट कम्पनीमा भारतको एसबीआई बैंकबाट नेपाल इन्भेष्टमेन्ट बैंकमा ७० करोड र स्वीजरल्याण्डको स्वीस बैंकबाट नबिल बैंकमा ३ अर्ब रकम असार ५ गते आएको थियो ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीसँग टेलिफोनमा सम्पर्क गर्दा उनले भने– ‘पैसा आएको छ, छैन यो बैंकले भन्न मिल्दैन । ग्राहकको गोपनीयता राख्नु हाम्रो कर्तव्य हो । यदि आएको भए राष्ट्र बैंकले छानबिन गरेको होला । हामी ग्लोबल विजनेशको कुरा गर्ने, लगानी भित्र्याउने कुरा गर्ने अनि लगानी आउँदा विवाद गर्ने, यो संस्कृति राम्रो होइन ।,’ उनले थपे, ‘नेपाल लगानी बोर्डको सिफारिसमै पैसा आएको छ ।’
नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले भने, ‘पैसा आएको सत्य हो । एउटा सप्लाइ कम्पनीको नामबाट आएको हो । लगानी बोर्डको सहमति लिएर पैसा आएको छ ।’
राष्ट्र बैंकले रोक्का गरेको छ नि भनी प्रश्न गर्दा उनले भने, ‘यस्तो भएको छैन । सहमति लिने निकायहरूसँग सहमति लिएर पैसा आएको छ । रोक्का भएको होइन ।’ प्रक्रिया पूरा नभएको भए पूरा गर भनेर भनेको अवस्था चाहिँ हो भनी उनले प्रष्ट पारे ।
कसरी पैसा ल्याइन्छ ?
नेपालको कालो धनलाई हुण्डीमार्फत् केही दिनका लागि पैसा पठाउने र बैंकमार्फत् सेतो बनाउने नेपाली व्यापारीहरूले गर्दछन् । कम्पनी दर्ता गरी लगानी गर्ने सहमति पत्र देखाएर रातारात पैसा भित्र्याउने काममा बैंकहरूको महत्वपूर्ण भूमिका रहन्छ । यी र यस्ता व्यापारीहरूले बैंकमा नगद संकट पर्दा दिने गर्दछन् । लोन प्रोभिजन गर्न पैसा राखी दिने गर्दछ निश्चित अवधिका लागि । यसैको गुन तिर्न बैंकले राष्ट्र बैंकको कारबाही छल्दै रातारात पैसा ल्याइदिने र रातारात बैंक खोली पैसा दिने गरेको देखिन्छ ।
सुशीलले टरेनन्
नेकपा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको प्रियपात्र अजय सुमार्गीले स्वच्छ छवि भएको नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइरालालाई भेटी विदेशी लगानीका परियोजना हात पार्न अनेकांै चलखेल गरे पनि उपाय नलागेपछि उनी अहिले प्रचण्डमार्फत् काम गराउन हिँडेको स्रोतको दाबी छ । पटकपटक प्रधानमन्त्रीले समय समेत नदिएपछि उनी निराश भएर फर्किएको बताइन्छ ।
नयाँ वाफिया आउँदै
नेपाली जनताको डिपोजिटबाट तलब खाने बैंकका सञ्चालक सिइओहरू नै अहिले राज्यलाई क्षति पुग्ने काम गर्न थालेपछि सरकारले व्यापारीलाई बैंकर बन्न नदिने विधेयक (वाफिया) कानुन मन्त्रालय मन्त्रिपरिषद् हुँदै सदनमा लैजाने तयारी गरेको छ । यो कानुन पास भए बैंकर र व्यापारी दुवै बन्न पाइने छैन र ३१ वटा वाणिज्य बैंकका व्यापारीहरूले निर्देशक र अध्यक्ष पदबाट हात धुनु पर्नेछ । यस्तो भएमा आफैं बैंक खोल्ने र जनताको डिपोजिटबाट आफैं व्यापार गर्ने व्यापारी कम हुने देखिन्छ ।
अधिकांश बैंकमा सुशासनको अभाव
दर्जनौंवाणिज्य बैंक र सयौं विकास बैंकभित्र अहिले कर्पोरेट सुशासनको अभाव देखिन्छ । ४ लाखदेखि १२ लाखसम्मको जागिर खाएका सिइओ जागिर बचाउन बैंकका प्रमोटरहरू, निर्देशक र अध्यक्षहरूको निर्देशनमा उनीहरूका आफन्तहरूलाई कर्जा प्रवाह गरिदिने गर्दछन् । यी कर्जा समयमा नआए व्याज मिनाहा गर्दै सो कर्जा प्रोभिजन गरिदिनेसम्मको काम जागिर बचाउन गरिँदै आएको राष्ट्र बैंकले फेला पारेपछि नयाँ ऐन (वाफिया) ल्याउन लागेको राष्ट्र बैंकको दाबी छ ।
गभर्नर डा. खतिवडा कारबाहीको पक्षमा
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र नबिल बैंक लिमिटेडमा विदेशबाट आएको अर्बौ रकम अजय सुमार्गीको कालो धन बैंकबाट झिक्न रोक्का गर्न निर्देशन दिएका राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडा बैंकहरूलाई स्पष्टीकरण माग्ने पक्षमा रहेको राष्ट्र बैंक स्रोतको दाबी छ । पटकपटक यी बैंकबाट यसरी सुमार्गीको पैसा आएको देखिएपछि राष्ट्र बैंकले पछिल्लो पटक अनुसन्धान थालेपछि यसको रहस्य खुलेको थियो ।
सुमार्गीमाथि राजस्वको अनुसन्धान सुरु
विवादास्पद उद्योगी अजय सुमार्गीले व्यापक मात्रामा राजस्व छली गरेको पाइएपछि राजस्व अनुसन्धान विभागले सुमार्गीका विभिन्न कम्पनीबाट धमाधम फाइल मगाउन थालेको छ । सुमार्गी अब राजस्वको घेरामा परेका छन् । कुनै बेला हेडौंडा सिमेन्ट उद्योगमा केमिकल र बोरा सप्लाई गर्ने ठेकेदार सुमार्गी पछिल्ला वर्षमा रातारात अर्बौंको मालिक भएपछि राजस्वले उनको सम्पत्तिको स्रोतलाई लिएर गम्भीर छानबिन थालेको हो । राजस्व स्रोतले भन्यो, ‘सुमार्गीले व्यापक मात्रामा राजस्व छलेको पाइयो । त्यसैले उनका कम्पनीबाट फाइल मगाएर अनुसन्धान थालेका छांै । केही समयभित्रै तथ्य बाहिर आउनेछ ।’
पानी, टेलिफोन, क्रसर उद्योग, घरजग्गा कारोबार लगायतमा हात हालेका सुमार्गीले विभिन्न कम्पनीका नाममा धन्दा चलाउँदै आएका छन् र विभिन्न तिकडम अपनाएर राजस्व छल्दै आएका छन् । सत्ता र शक्तिको आडमा नक्कली कागजात बनाई सुमार्गीले कर छलेका प्रमाणहरू भेटिएपछि राजस्वले सुमार्गीलाई कारबाहीको घेरामा पारेको हो । सुमार्गीका हेटांैडा मेनरोडको सुमार्गी कम्प्लेक्स, थाहा एफएम, भैरव रोडमा लाखौंको घडेरी, फाइनान्समा सेयर, एभरेष्ट मिनरल र क्रसर उद्योग, काठमाडौं बबरमहलमा सुमार्गी कम्प्लेक्स ‘ए’ र ‘बी’, नयाँ बानेश्वर मुक्ति टावर, नेपालगञ्जमा सिमेन्ट कारखाना, सुमार्गी एयर र हेलो मोबाइल लगायतका कम्पनी छन् । राजस्वले ती सबैबाट आम्दानी र खर्च लगायत हरेक हिसाबको फाइल मगाएर अनुसन्धान थालेको स्रोतको दाबी छ । (आर्थिक बजार)













प्रतिक्रिया