चितवन, ३१ साउन । उपप्रधान एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यका कारण सरकारी काममा कुनै असर नपरेको दाबी गर्नुभएको छ ।
प्रेस युनियन चितवनले शनिबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा बाहिरी हल्ला धेरै भएका भन्दै सरकारी काममा असर कुनै असर नपरेको दाबी गर्नुभयो । उहाँले बाहिरी हल्लाको पछि नलाग्न आग्रह पनि गर्नुभयो ।
उपप्रधानमन्त्री सिंहले माघ ८ गतेअघि नै स्थानीय निकायको निर्वाचन सम्भव रहेको बताउनुभयो । स्थानीय स्वायत्त शासन ऐन संसद्बाट संशोधन भइसकेकाले निर्वाचन प्रक्रिया अघि बढ्ने उहाँले बताउनुभयो । राजनीतिक सहमति जुटाएर निर्वाचनको मिति तय गर्ने भन्दै उपप्रधानमन्त्री सिंहले स्थानीय निकायको निर्वाचनमा सबै दल सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।
तोकिएको समयमा नै संविधान बनाउने काम चुनौतीपूर्ण भए पनि तीव्रगतिमा काम अघि बढेकाले आफूहरू समयमा नै संविधान बन्नेमा विश्वस्त रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, कार्यतालिका अनुसार नै काम भइरहेको छ, सबै नेपालीको भावना समेटेर संविधान बन्छ ।
















प्रतिक्रिया