१० कार्तिक २०८३, मंगलबार

दशकदेखि ‘घुमुवा’ एउटै कार्यालयमा, पाँच हजार सात सय प्रहरी काजमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Policeकाठमाडौं, २४ असार । महानगरीय अपराध महाशाखा, टेकुमा प्रहरीको दरबन्दी एक सय ४१ जनाको हो । तर, महाशाखामा दुई सय ११ प्रहरी कार्यरत छन् ।

तीमध्ये करिब एक सय प्रहरी काजमा आएका हुन् भने महाशाखामै दरबन्दी भएका करिब ५० जना अन्यत्रै काजमा बसेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं र मातहतमा तीन हजार एकजनाको दरबन्दी छ । तर, परिसरमा दुई हजार नौ सय ५६ जना कार्यरत छन् । तीमध्ये पनि डेढ सय काजमा छन् ।

परिसरको दरबन्दीका करिब एक सय प्रहरी भने काठमाडौंबाहिर काजमा छन् । प्रहरीका हरेकजसो कार्यालयमा काज विकृति छ । प्रहरीमा करिब पाँच हजार सातजना काजमा कार्यरत छन् ।

अधिकांशले घरपायक तथा आकर्षक ठाउँमा बस्न काज मिलाउने गरेका छन् । काज विकृतिले सुरक्षा व्यवस्थामा समेत असर परेको प्रहरी अधिकारीहरू नै बताउँछन् । तर, विकृति हटाउने प्रयास भएको छैन । प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले पाँच हजार ६ सय ९० प्रहरी काजमा रहेको जानकारी दिए ।

कहाँ कति प्रहरी काजमा ?

  • प्रहरी मुख्यालयबाटः २१२१
  • महानगरीय प्रहरी कार्यालयबाटः ८५७
  • पूर्वक्षेत्रबाटः ११४९
  • मध्यक्षेत्रबाटः ४०५
  • पश्चिमाञ्चलबाटः २३३
  • मध्यपश्चिम क्षेत्रबाटः ४४६
  • सुदूरपश्चिम क्षेत्रबाटः ४७९

कुन पदका कति ?

  • एआइजीः१
  • एसएसपीः२
  • एसपीः१९
  • डिएसपीः४४
  • इन्स्पेक्टरः१९२
  • सइः ५२०
  • असइ ६४९
  • हवल्दारः १००७
  • जवानः २९९९
  • कार्यालय सहयोगीः २५७

पहुँच हुने बढी काजमा

काजमा बस्ने प्रहरी सोर्सफोर्सवाला हुने भएकाले विकृति समाधान हुन पहल नभएको स्रोत बताउँछ । कतिपय हाकिम रिझाएर त केही नेताको सोर्सफोर्समा काजमा बस्ने गरेका छन् । काज मिलाउन ठूला नेताहरूको पनि दबाब आउने गरेको प्रहरी अधिकारी बताउछन् ।

दशकदेखि एउटै कार्यालयमा

नेपाल प्रहरीमा सामान्यतः एक–एक वर्षमा सरुवा हुन्छ । तर, केही प्रहरी दशकभन्दा लामो समयदेखि एउटै कार्यालयमा बस्दै आएका छन् । आकर्षक कार्यालयमा काज मिलाएर बस्ने विकृति प्रहरीमा छ । घुमुवाका रूपमा सादा पोसाकमा काम गर्ने तथा मुद्दा शाखाका कर्मचारीमा यस्तो विकृति बढी देखिएको स्रोत बताउँछ । सुगम र दुर्गम सबै क्षेत्रमा हरेक एक–दुई वर्षमा खटाउने प्रहरीको सरुवा नीति छ । सोहीअनुसार नियमित सरुवा हुने भए पनि केही प्रहरी भने सरुवा भएको कार्यालयमा नगई आफ्नोअनुकूल हुने कार्यालयमा काज मिलाएर बस्ने गरेका छन् ।