१० कार्तिक २०८३, मंगलबार

चीन विरोधी गतिविधि हुँदै गर्दा सरकारले लियो ‘एक्सन’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dalai Lamaकाठमाडौं, २३ असार । नेपाल सरकारको नीतिविपरीत र गृह प्रशासनको अनुमतिबेगर जन्मोत्सब मनाएको भन्दै प्रहरीले हस्तक्षेप गरेपछि तिब्बती धर्मगुरु दलाई लामाको जन्मदिनको कार्यक्रम बिथोलिएको छ ।

प्रहरी हस्तक्षेपपछि बौद्धस्थित स्रोङचेन आवासिय विद्यालय परिसरमा लामाको ८१ औँ जन्मदिन मनाउन बुधवार भेला भएका झन्डै तीन हजार समर्थक आक्रोशित हुँदै फर्किएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

बौद्ध सेटलमेन्टका अधिकृत केल्साङसहित २४ तिब्बतीलाई प्रहरीले पक्राउ गरेको थियो ।

लामाका समर्थकले उक्त विद्यालय परिसरमा स्टेज बनाई सांस्कृतिक लगायत विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेका थिए ।

काठमाडौं प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले अनुमतिबिना कार्यक्रम गरेकाले रोक्न निर्देशन दिएको बताए ।

‘प्रशासनले उनीहरुलाई कार्यक्रम गर्ने अनुमति दिएको छैन’, सुवेदीले भने, ‘दलाई लामाको जन्मोत्सव मनाउन कसरी अनुमति दिन मिल्छ ? जबरजस्ती गर्न खोजेपछि हामीले रोक लगाएका हौं ।’

जिल्ला प्रशासनले अनुमति नदिएपछि मंगलबारदेखि नै प्रहरीले सम्भावित कार्यक्रम स्थलको निगरानी गरेको स्रोतले बताएको छ ।

दलाई लामाका अनुयायीलाई प्रहरीले कार्यक्रम नगर्न भनेपछि केहीबेर विद्यालय परिसर तनाबग्रस्त भएको थियो ।