काठमाडौं, २३ असार । दुई महिना अघि महानगरिय प्रहरी बृत्त सोह्रखुट्टेले अबैध हुण्डी कारोबार गरिरहेकै अवस्थामा केशरमहलस्थित एक ट्राभल्सबाट १२ लाख ५० हजार नगद र ५० लाखको चेक सहित दलबहादुर पुन र लब नेपाल नामका दुई व्यक्तिलाई पक्राउ ग-यो ।
हङकङमा बस्दै आएका धर्म गुरुङको समूहले सञ्चालन गरेको देबु ट्राभल्स एजेन्सीबाट प्रहरीले उक्त रकम सहित पुन र नेपाललाई पक्राउ गरेपनि मुख्य गिरोह भने हङकङमा बसेर नै हुण्डी र सुनको कारोबार गर्दै आइरहेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
हङकङ एनआरएनका सदस्य समेत रहेका धर्म गुरुङ र एमबी गुरुङले अबैध हुण्डीको कारोबारको सञ्जाल विस्तार गरी काम गर्दै आइरहेको बुझिएको छ ।
यो समूहले हुण्डीको अलवा सुन, रक्तचन्दन र यार्सागुम्बाको कारोबार पनि गर्दै आइरहेको छ ।
हङकङबाट नेपाल आउने यात्रुहरुलाई विमानस्थलमै जबर्जस्ती सुनका टुक्रा भिडाएर यो समूहले सुन तस्करी गर्दै आइरहेको सूचना पाएपछि काठमाडौं विमानस्थलका प्रहरीले पछिल्लो समय निगरानी गर्न थालेका छन् ।
हङकङबाट नेपालमा सुन तस्करी र हुण्डीको कारोबार गर्ने यो गिरोहले नेपालबाट हङकङमा रक्तचन्दन र यार्सागुम्बाको तस्करी गर्दै आइरहेको समेत खुलेको छ ।















प्रतिक्रिया