१० कार्तिक २०८३, मंगलबार

लोकन्थलीमा के–के भए गोप्य कुरा ?

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-Thapa-Lokendra-Bd-Chandकाठमाडौं, २३ असार । पूर्व पञ्चहरूको पार्टी भनेर चिनिने राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको विषयले चर्चा पाएको छ ।

पद लोलुपताका कारण टुटफुटबाट गुज्रिएको दुई राप्रपाले छिट्टै एकीकरणको मूर्त रुप पाउने स्रोतको भनाई छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

यसैक्रममा राप्रपा र राप्रपा नेपालका शीर्ष नेताहरूको भक्तपुरको लोकन्थलीस्थित लोकेन्द्रबहादुर चन्दको निवासमा गोप्य वार्ता भएको छ ।

राप्रपाका अध्यक्ष चन्दको निवासमा बुधबार बिहान भएको वार्तामा कमल थापाले केशरबहादुर विष्टको जिकिर गर्दै पार्टीमा नभित्र्याउन जोडदार माग गरेका थिए ।

‘कमल थापाज्यूले केशरबहादुर विष्टलाई किरोको संज्ञा दिनुभएको छ’, स्रोतले भन्यो, ‘पार्टीमा विष्ट समूहलाई ल्याए आफू बाहिर बस्ने चेतावनी दिनुभएको छ ।’

विशेष गरेर राप्रपाका वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीले केशरबहादुर विष्ट र लावती समूहलाई पार्टी एकीकरणको अभियानमा सहभागी गराउन माग गर्दै आएका छन् ।

तर, डा.लोहनीको यो आग्रहलाई कमल थापाले तुहाइदिएका छन् । तत्काल विष्ट समूहले राप्रपामा प्रवेश पाउने संकेत न्यून छ ।

गोप्य वार्तामा राप्रपाका अध्यक्षका चन्दका साथै वरिष्ठ नेताद्वय पशुपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनी तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाको सहभागिता रहेको थियो ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकताका क्रममा पार्टीको नामको अगाडि एकीकृत थपेर एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राख्न प्रस्ताव गरेका छन् ।

तर, राप्रपाका नेताहरूले यो प्रस्ताव ठाडै अस्वीकार गरिदिएका छन् । अब पार्टी एकीकरण हुनेवित्तिकै राष्ट्रिय अध्यक्षको जिम्मेवारी राप्रपा र कार्यकारी अध्यक्षको जिम्मेवारी कमल थापाले पाउने छन् ।

उता, राप्रपाका सांसद बिक्रम थापा एकाएक बिबादमा तानिएका छन् । उनको कालिका कन्स्ट्रक्सनले निर्माण गरेको बाँकेको सिक्टा सिंचाइ आयोजनाको बाँध सञ्चालन नहुँदै भत्किएपछि उनलाई कारबाही गर्न संसदमा कुरा उठिसकेको छ ।

राप्रपाका तर्फबाट श्रममन्त्री बनेका दीपक बोहरा पनि कमाउ धन्दामा लागेको आरोप छ । वैदेशिक रोजगार व्यवसायी र श्रम विभागका कर्मचारीहरूसँग पैसा उठाएर बोहराले हैरान बनाएका छन् । उनको पैसा आतंक भएपछि व्यवसाय र कर्मचारीहरू मन्त्री बोहराका छेउछाउ पर्न छाडेको स्रोतको भनाइ छ ।

यसैबीच, राप्रपाको लामो समयसम्म निश्क्रिय भएको राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनले नयाँ जीवन पाउने तरखरमा छ । संगठनको कार्यबाहक अध्यक्षको जिम्मेवारी ध्रुब रायमाझीले पाएपछि केही हुने हो कि भन्ने आस जागेको एक नेताले बताए ।