काठमाडौं, ३० साउन । प्रहरीको इन्काउन्टरमा मारिएका भनिएका डन दिनेश अधिकारी चरीका आफन्तहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
चरीका दाजु धुव्र अधिकारीले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । गत बुधबार काठमाडौंको भीमढुंगामा चरी इन्काउन्टरमा मारिएको प्रहरीले दाबी गरेपनि परिवारले अस्वीकार गर्दै आएको छ ।
चरीको हत्या षडयन्त्रपूर्वक भएको र प्रहरीले किटानी जाहेरी लिन नमानेको भन्दै रिटमा घटनामा संलग्न उपर कारबही गर्न माग गर्न तथा महानगरीय प्रहरी परिसर हनुमानढोकालाई किटानी जाहेरी लिन परमादेश माग गरिएको छ ।
रिटमा अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्की, महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसएसपी उत्तम कार्की, अपराध महाशाखाकै डिएसपी मीरा चौधरी, इन्सपेक्टर कुमुद ढुंगेल र चरीकी प्रेमिका खुस्बु ओलीका भूपू प्रेमी अर्पण कोइरालालाई विपक्षी बनाइएको छ । रिट दायर गर्न खुस्बु पनि अदालत पुगेकी थिइन् ।
यसअघि अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी आयुक्तको कार्यालयमा किटानी जाहेरी दर्ता गर्न जाँदा प्रहरीले त्यसै फर्काइदिएको थियो । प्रहरीले जाहेरी बुझ्न नमानेपछि आफुहरु अदालत धाउन बाध्य भएको चरीका दाजु ध्रुबले बताए । रिटको पहिलो पेशी सोमवार तोकिएको छ ।
















प्रतिक्रिया