काठमाडौं, २१ असार । केही दिनदेखि सरकार परिवर्तनका लागि उद्दत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ झड्का दिएका छन् ।
माओवादीले सरकार परिवर्तनको कुरा गरेपछि भोजकै आयोजना गरेर बुढानिलकण्ठमा रमाएका देउवालाई प्रचण्डले खुसी नहुन सुझाव दिएका छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
‘सरकार परिवर्तनका लागि माओवादीले कुरा उठाउँदा कांग्रेस खुसी हुनुपर्ने कारण केही छैन ।’, प्रचण्डले भने, ‘यसमा एमाले रिसाउनुपर्ने कारण पनि केही छैन ।’ प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार परिवर्तन गर्नुपर्ने कारण नभएको बताइरहेका बेला प्रचण्डले भने सरकार परिवर्तन नगरी नहुने भएको उल्लेख गरेका छन् ।
उच्च स्रोतका अनुसार भारतीय संस्थापनको दबाब रहेका कारणले प्रचण्ड सरकार परिवर्तनको पक्षमा उभिएका छन् । तर, ओली सरकार कुनैपनि हालतमा टिकाएर लिएर जाने अडानमा उभिएका छन् ।
प्रचण्डले ओलीसँग भेटेर सरकार फेरबदलको कुरा गरेका थिए । तर, यहि बेला आफू प्रधानमन्त्री नबने भएपछि प्रचण्डले ओली सरकारकै फेरबदल गर्ने की माओवादीकै नेतृत्वमा बनाउने भन्नेचाहीँ खुलाएका छैनन् ।
उनले आन्तरिक राष्ट्रिय एकता बलियो बनाउन, भूकम्पपछिको पुनर्निर्माण र संविधान कार्यान्वयनका लागि सरकार बदल्नुपर्ने बताएका हुन् ।
आफू प्रधानमन्त्री बन्न नभई मुलुकको आवश्यकताका कारण सरकार परिवर्तन गर्न खोजेको प्रचण्डले बताए । उनले कांग्रेस र एमालेले चाहेमा आफू सरकारको नेतृत्व गर्न तयार रहेको पनि बताए ।
‘शान्ति प्रक्रियासम्म आउँदा एउटा नेतृत्वको हैसियतले आन्तरिक राष्ट्रिय एकतालाई बलियो बनाउन लागिपरेको आधारमा मलाई विश्वास गरेर कांग्रेस एमालेका साथीहरुले प्रधानमन्त्री बन्न सहयोग गर्नुहुन्छ भने म तयार छु’, प्रचण्डले भने, ‘होइन भने ओलीको नेतृत्वमा सहमति भए झनै राम्रो ।’
प्रचण्डले राष्ट्रिय सहमति नभए मुद्दाको आधारमा सहमति गरेर भएपनि नयाँ सरकार बनाउनुको विकल्प नभएको बताए ।
अहिले भूकम्पपछिको पुनर्निर्माणको काम एक प्रतिशत पनि नभएको भन्दै उनले पुनर्निर्माणमा कांग्रेसले पनि सहयोग नगरेको आरोप लगाए । तर उनले कांग्रेसको नेतृत्वमै सरकार गठन गर्ने भन्ने कुरामा माओवादीको समर्थन रहने वा नरहने भन्नेबारे खुलाएनन् ।
उता, माओवादीको सरकार फेरबदल गर्ने अडानदेखि कांग्रेस सभापति देउवा खुसी भएका छन् । उनले नयाँ सरकारको नेतृत्व आफुले लिने भन्दै निकस्थहरुसँग खुसी बाँड्न पार्टी दिन थालेको स्रोतहरुले जनाएका छन् ।















प्रतिक्रिया