१० कार्तिक २०८३, मंगलबार

माओवादी सिध्याउन यस्तो खेल, रनभुल्लमा प्रचण्ड

27.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachandaकाठमाडौं, २१ असार । भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ्ग्स’ रअको योजनामा नेपाली कांग्रेस मिलेर नेकपा माओवादी सिध्याउन नयाँ खेल सुरु गरेका छन् ।

त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदको ललीपप देखाएर सरकारबाट बाहिर निकाल्ने र सरमारमा समर्थन नदिलाउने नयाँ खेल सुरु भएको हो । यो खेलमा नेकपा एमालेको माधव नेपाल समूहको पनि ढाडस रहेको स्रोतले जनाएको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

कांग्रेस र रअले सरकार परिवर्तनका लागि प्रचण्डलाई उकासेका छन् । प्रचण्डलाई नयाँ प्रधानमन्त्रीको पद दिने लोभ देखाउनका लागि एमालेका नेपाललगायतका नेताहरुको पनि प्रयोग गरिएको छ ।

माओवादीले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको समर्थन फिर्ता लिए सरकारलाई कमजोर बनाई फिर्ता बोलाउने जिम्मा आफुले लिने नेता नेपालले आश्वासन दिएका थिए । तीन दिनअघि नेपालसहित कांग्रेस सभापति देउवा र प्रचण्डको भेटका क्रममा यस्तो आश्वासन पाएपछि प्रचण्ड सरकार फेर्नका लागि उद्दत देखिएका थिए ।

सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा पौने २ घन्टाको भेटवार्ताका क्रममा पनि प्रचण्डले सरकारबाट समर्थन फिर्ता लिने चेतावनी दिएको बालुवाटार स्रोतले बतायो ।

‘मैंले थाम्न नसक्ने भएँ, सरकारबाट समर्थन फिर्ता लिनुपर्ने भयो । पार्टीभित्र पनि अप्ठ्यारोमा परेको छु ।’, हतास मुद्रामा रहेका प्रचण्डको भनाई उदृत गर्दै स्रोतले भन्यो,‘काम पनि केही भएन, सरकार परिवर्तन नगरी नहुने भयो ।’

प्रचण्डले आफुलाई आइपरेको दबाब र गुनासो चेतावनीपूर्ण ढंगले राखेको केहीबेरमा नै कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका थिए ।

बालुवाटार वार्ताका क्रममा देउवाले सरकार फेर्ने भन्दा पनि माओवादी सिध्याउने योजना आफूले बनाएको प्रधानमन्त्री ओलीलाई सुनाएका थिए ।

‘जसरी पनि माओवादी सिध्याउने हो, माओवादीले फिर्ता लिए स्थानीय चुनावसम्म कांग्रेसले सरकार टिकाउन समर्थन गर्नेछ, अर्को आम निर्वाचन गराउने सरकारको नेतृत्व मलाई दिने लिखित सहमति गर्नुहोस् ।’, ओलीलाई देउवाले राखेको प्रस्तावको जानकारी दिँदै उच्च स्रोतले भन्यो,‘माओवादी नसिध्याई कांग्रेस एमालेको केही सीप नचल्ने भयो ।’

रनभुल्लमा पारिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबार सरकारबाट समर्थन फिर्ता लिने चेतावनी ओलीलाई दिएका छन् ।